
भोजपुर । सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर स्थापना’ अभियान भइरहेको छ ।
पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला नेतृत्वको ईश्वर मन्दिर काठमाडौँ नामक संस्थाको सहयोगमा जिल्लामा इ–लर्निङ सेन्टर स्थापना भइरहेका हुन् । अभियानको क्रममा आज जिल्लाको टेम्केमैयुङ गाउँपालिका—२ छिनामखुमा रहेकोे त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिएको छ ।
विसं २००५ सालमा स्थापना गरिएको विद्यालयमा सञ्चालन गरिएको सेन्टरमा को २० थान कम्प्युटर सेट र स्र्माट टिभी लगायतका विद्युतीय सामानको व्यवस्था गरिएको सहयोगी संस्थाका अध्यक्ष प्रमेश केसीले बताउनुभयो । विद्यार्थीलाई सूचना प्रविधिसँग अभ्यस्त गर्दै सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आफ्नो संस्थाले विद्यालयमा इ—लर्निङ सेन्टर स्थापना गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सूचना प्रविधिको वर्तमान युगमा विगतमा जस्तो अध्ययनले मात्र हुँदैन, विद्यार्थीलाई प्रविधिसँग जोड्न जरूरी छ । त्यसैले ग्रामीण क्षेत्रका विद्यालयमा पनि इ–लर्निङ सेन्टर स्थापनामा सहयोग गरिरहेका छौँ । यसले पठनपाठनमा सहज हुने विश्वास लिएका छौँ ।’
छिनामखुमा रहेकोे त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयमा मात्रै होइन सो संस्थाले भोजपुर नगरपालिकामा रहेका भोजपुर बहुमुखी क्याम्पस, विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा माविमा समेत त्यो संस्थाले कम्प्युटरलगायतका सामग्री सहयोग गरी इ—लर्निङ सेन्टर स्थापनामा योगदान गरिसकेको छ ।
संस्थाका महासचिव संकेत कोइरालाले पनि प्रविधिसहितका पुस्तकालय स्थापनाले पठनपाठनमा सहज भएको प्रतिक्रिया आफूहरूले पाएको बताउनुभयो । ‘आधुनिक प्रविधिको युगमा विद्यार्थीको हातमा कलम र कपी मात्र होइन, अहिलेका कम्प्युटर पनि हुन जरूरी छ’ उहाँले भन्नुभयो – ‘ त्यसैले हामी त्यही अभियानअन्तर्गत अहिले भोजपुरका विद्यालयमा सहयोग गरिरहेका छौँ । यसलाई अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य छ ।’
त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक राजन राईले ‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियानले विद्यालयको शैक्षिक सुधारमा सहयोग पुगेको बताउनुभयो । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पनि विद्यालयमा स्थापना गरिएका इ—लर्निङ सेन्टरले शैक्षिक गुणस्तर सुधारका साथै विद्यार्थीलाई अध्ययनमा अभिप्रेरित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका सल्लाकार पूर्वअर्थमन्त्री कोइरालाले आगामी दिनमा पनि विद्यालयलाई प्रविधिमैत्री बनाउन भोजपुरका अन्य विद्यालयमा पनि सहयोग अभियान सञ्चालन गरिने बताउनुभयो । ‘अब विद्यालयमा प्रविधिमैत्री इ–लर्निङ सेन्टर स्थापना हुनुपर्छ, त्यसका लागि हामीले सहयोग अभियान शुरु गरेका हौँ, कोइरालाले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी