
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन् । केही सातायतादेखि बस्तीमा चितुवा र जङ्गली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका हुन् ।
बस्ती तथा उखुबारीमा चितुवा देखिन थालेपछि गाउँमा त्रास उत्पन्न भएको बेलौरी नगरपालिका–८ पचुइँका मनोज चन्दले बताउनुभयो । ‘चितुवाले तीन वटा कुकुर खाएको छ । चितुवा देखिएपछि गाउँभर त्रास छ’ उहाँले भन्नुभयो– ‘बेलुकातिर घरबाहिर निस्कनै सकिदैँन । कतिबेला के हुन्छ भनेर डराइडराइ बस्नु परेको छ ।’
चन्दका अनुसार हुलाकी सडकअन्तर्गत पर्ने खप्टीनालादेखि पुचइँसम्म जोड्ने सडकमा स्थानीय हिँडडुल गर्न डराउने गरेका छन् । घना उखुबारी हुनाले सो क्षेत्रमा चितुवा तथा हिंस्रक जनावर लुक्ने गरेको उहाँको भनाई छ ।
केही दिनअघि खप्टिनाला क्षेत्र भएर मोटरसाइकलमा यात्रा गरिरहनुभएका बेलडाँडी गाउँपालिका–३ खैरीघाटका जीवन चन्द आक्रमणमा पर्नुभएको थियो । ‘चितुवा हो वा बाघ चिन्न सकिन । हेर्दा ठूलै थियो । एक्कासि हातमा झम्टेर सडकको पारीपट्टी झर्यो’ उहाँले भन्नुभयो– ‘म मोटरसाइकलबाट लडेँ । फेरि झम्टिने डरले मोटरसाइकल उठाएर भागेँ ।’
उहाँको हातमा पञ्जाले तिथोरेको घाउ लागेको छ । कैलालीको अत्तरियास्थित माइक्रोफाइनान्समा काम गर्ने उहाँ शुक्रबार र शनिबार सो बाटो भएर घर आउजाउ गर्नुहुन्छ । त्यो घटनापछि खप्टिनालाको बाटो भएर हिँडडुल गर्न डर लागेको उहाँले बताउनुभयो ।
खप्टिनाला क्षेत्रमै गत वैशाखमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । त्यसपछि त्यो हिंस्रक बाघलाई नियन्त्रणमा लिएर ललितपुरस्थित चिडियाखानामा राखिएको छ । सव–डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश यादवका अनुसार पुनर्वासमा जङ्गली हात्तीको बथान बस्तीमा देखिएको छ । पुनर्वास नगरपालिका–१० पचकडिया विकासबस्तीमा छावासहित हात्तीको ठूलो बथान बस्तीमा देखा परेको हो ।
पुनर्वास–१० मै चितुवा पनि देखा परेको उहाँको भनाई छ । ‘हात्ती र चितुवा देखापरेपछि स्थानीयवासी त्रसित छन् । पुनर्वासमा १३(१४ को सङ्ख्याको हात्तीको बथानले खेती क्षति पुर्याएको छ’ उहाँले भन्नुभयो– बेलौरी र पुनर्वासमा चितुवा पनि देखिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा