
काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो र पुरानो कारागार जगन्नाथदेवल सुन्धारामा सञ्चालित केन्द्रीय कारागार अस्पतालमा ६ महिनामा २० हजार कैदीबन्दीले उपचार गरेका छन् ।
नेपालको एक मात्र कारागार अस्पतालमा साउनदेखि पुससम्म १९ हजार नौ सय ९२ कैदीबन्दीले उपचार गरेका छन् । जसमा पुरुष कैदीबन्दी १६ हजार ४ सय ९५ र महिला कैदीबन्दी ३ हजार ४ सय ९७ रहेका छन् ।
१९७१ सालमा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो ।शुरुमा १५ श्ययाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्न ३६ दरबन्दी थप गरेको थियो । क्रमशः अस्पातलको सेवा विस्तार गरिँदै हाल ३० श्ययाको अस्पताल सञ्चालनमा आएसँगै कर्मचारीको दरबन्दी थप गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकी कारागार पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर जाँच गर्दै आएको बताउनुहुन्छ । ‘कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा लगायतका रोगको उपचार गर्दै आएको छ’ डा बुढाथोकी भन्नुहुन्छ ।
अस्पतालले बेलाबेलामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरासमेत सिकाउँदै आइरहेको छ । कारागार अस्पतालले कारागारभित्र उपचार सम्भव नभएका रोगको उपचारका लागि काठमाडौँभित्रका विभिन्न २३ वटा अस्पतालसँग सम्झौता गरेको छ ।
‘रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवनविश्विद्यालय शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताल, राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रलगायतका २३ अस्पतालमा बिरामी पठाउँदै आएका छौँ’ डा बुढाथोकी भन्नुहुन्छ ।
अस्पतालकी प्रशासन प्रमुख रमा घिमिरे कैदीबन्दीलाई सबै रोगको उपचार कारागारभित्रै गर्नेगरी सेवा विस्तार गर्दै लगेको बताउनुहुन्छ । ‘एघारौँ तहको अधिकृतको नेतृत्वमा ६८ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन गरेका छौँ’ उहाँ भन्नुहुन्छ । कारागार अस्पतालमा विभिन्न रोगका आठ जना विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्थासमेत मिलाइएको उहाँको भनाई छ ।
केन्द्रीय कारागारमा ३ हजार ४५० कैदीबन्दी छन् । १ हजार ५ सय जना अटाउने केन्द्रीय कारागारमा हाल दोब्बरभन्दा पनि बढी कैदीबन्दी रहँदै आएका छन् । तीनवटा जेल रहेको केन्द्रीय कारागारको केन्द्र जेलमा १ हजार ८ सय ४४, भद्र जेलमा १ हजार १ सय ५३ र महिला जेलमा ४ सय ५३ कैदीबन्दी रहेका छन् । यसैगरी, बालसुधार गृहमा २ सय २८ र ९ आश्रित बालबालिका रहेका छन् ।
केन्द्रीय कारागार सुन्धाराका कारागार प्रशासक ललित बस्नेत देशभरका कैदीबन्दी उपचारका लागि काठमाडौँ आउँदा केन्द्रीय कारागारभित्र कैदीबन्दीको सङ्ख्या बढेको बताउनुहुन्छ । ‘देशभरका कैदीबन्दी उपचार गर्न र अड्डा अदालत धेरै राजधानीमा भएकाले यहाँ आउने चाप बढेको छ’ उहाँ भन्नुहुन्छ । एक शताब्दी इतिहास बोकेको केन्द्रीय कारागार अहिले कैदीबन्दीको चापका कारण साँघुरो बन्दै गएको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ ।
कारागार अस्पतालले कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ । अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइडलगायतका बढी विरामी देखिने गरेका छन् ।
केन्द्रीय कारागारमा हाल २सय ५५ जना विदेशी कैदीबन्दी रहेका छन् । विदेशीमध्ये सबैभन्दा बढी भारतीय कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ । भारतीय कैदीबन्दी अधिकांश लागूऔषध मुद्दाका रहेका उहाँको भनाई छ । भारतपछि चीन र दक्षिण अफ्रिकाका कैदीबन्दी रहेका छन् ।
आठ वर्ष केन्द्रीय कारागार अस्पतालमा रहेर विरामीलाई सेवा प्रदान गर्नुभएका नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा केदारनरसिंह केसी साँघुरो ठाँउ र धेरै कैदीबन्दीका कारण विभिन्न रोग देखिएको बताउनुहुन्छ । ‘राज्यबाट कैदीबन्दीको लागि निःशुल्क उपचार व्यवस्था हुनु सकारात्मक कुरा हो, यसलाई विस्तारै व्यवस्थापन गर्दै लैजानुपर्छ’ डा केसी भन्नुहुन्छ ।
उहाँ कैदीबन्दीलाई पछिल्लो समय छालासम्बन्धी समस्या, मानसिक समस्यालगायतका समस्या देखिएको बताउनुहुन्छ । आफू यो अस्पतालमा कार्यरत रहँदा बाहिरबाट हप्ताको एकपटक विशेषज्ञ चिकित्सक झिकाएर कैदीबन्दीको उपचार गरेको उहाँ बताउनुहुन्छ । केन्द्रीय कारागार अस्पतालले आर्थिक वर्ष २०७७÷०७८ मा १६ हजार ८८६, आव २०७८÷०७९ मा २२ हजार १४१ र आव २०७९÷०८० मा ३४ हजार ३२५ विरामीको उपचार गरेको छ । अस्पतालले केन्द्रीय कारागारबाहेक डिल्लीबजार र नख्खु कारागारका कैदीबन्दीको उपचार गर्नुका साथै औषधि वितरण गर्दै आएको छ ।
शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउन सो अस्पतालले सरकारसँग माग गरेको छ । अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर २४ सै घन्टा सेवा सञ्चालन गर्दै आएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल