
काठमाडौँ । रामग्राम क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता खारेज भएको छ ।
संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशनपछि लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरेको सबै सम्झौता खारेज गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा कार्यकारिणी समितिको मंगलबारको बैठकले रामग्राम क्षेत्रमा प्रमिस्ड ल्यान्डसँग गरिएका सम्झौता लगायत सबै कार्य खारेज गर्ने निर्णय गरेको छ ।
सार्वजनिक लेखा समितिले माघ २८ गते रामग्राम क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता खारेज गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्झौता गरेको हो । यसअघि कोष र द प्रमिस्ड ल्यान्डबीच रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्नेलगायत सम्झौता भएको थियो ।
रामग्राम क्षेत्र गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको स्थल हो । यो नवलपरासी जिल्लामा पर्छ । यस क्षेत्रको उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्न कोषले निजी कम्पनीसँग समझदारी गरेसँगै लेखा समितिले यसमा चासो देखाएको थियो । यस क्षेत्रमा यसअघि कोषसँग रहेको जग्गा र थप १ सय १६ बिघा जमिन अधिग्रहण गरी कोषले निजी कम्पनीको जिम्मा लगाउने गरी सम्झौता गरेको थियो ।
यस क्षेत्रको गुरुयोजना बनाएर विभिन्न देशका स्तूप निर्माण तथा गुम्बाहरू बनाउने योजना थियो । अर्थ र पर्यटन मन्त्रालयको स्वीकृतिबिना कोषले सम्झौतासहित योजना अगाडि बढाएपछि संसदीय समितिले रोक्न निर्देशन दिएको थियो ।
कोषले केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी द प्रमिस्ड ल्यान्डलाई स्तूप क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन दिने सैद्धान्तिक सहमति प्रदान गरेको थियो । कोषका अनुसार हाल रामग्राम स्तूप वरिपरि पुरातत्व विभागको १० कठ्ठा र कोषको तीन बिघा १५ कठ्ठा जमिन संरक्षित छ । बाँकी जग्गा अधिग्रहण गर्नमात्र करिब १ अर्ब ५० करोड र अन्य संरचना निर्माणका लागि साढे ५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
विवादास्पद छविका लुम्बिनी विकास कोष उपाध्यक्ष ल्हारक्याल लामाको अग्रसरतामा बिनाप्रतिस्पर्धा स्तूप क्षेत्र ९९ वर्षका लागि भाडामा दिई प्रधानमन्त्री निकटका ठेकेदारका छोरालाई निर्माणको काम दिने विषयको स्थानीय जनता, सरोकारवाला र राजनीतिक दलले विरोध गर्दै आएका थिए । बौद्धग्रन्थ अनुसार बुद्धका आठवटा अस्तुधातुमध्ये एउटा मात्र सिंगो भाग रहेको रामग्राम स्तूप हो । संसारका बौद्धमार्गीका लागि यो स्तूपको ठूलो महत्व छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै