
बाग्लुङ । १५ वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गको रङ्गेनीबाट तोरीखोला–ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तारोन्नति हुनसकेको थिएन । गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो ।
तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको रु १० लाख र स्थानीयले उठाएर रु ३५ लाख गरी रु ४५ लाखमा सडक खुलाइएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकले हिउँद–बर्खा यात्रा गर्दा निकै समस्या भोग्नुपरेको भन्दै आर्थिक वर्ष २०७८/७९ देखि गण्डकी प्रदेशले बजेट विनियोजन गर्दै आएपछि सडक बन्दै गएको उहाँको भनाइ छ । हालसम्म प्रदेश सरकारले रु एक करोड ५० लाख विनियोजन गरेको भन्दै पहिलो वर्ष निर्माण कम्पनीले काम नगर्दा रु ३० लाखमात्रै खर्च भएको नगरप्रमुख गैरेले बताउनुभयो ।
गतवर्षको सबै बजेटको काम भएको र यस वर्ष पनि निर्माण कम्पनीले धमाधम काम गरिरहेको उहाँको भनाइ छ । सडक स्तरोन्नति भएपछि ठाना, तोरीखोला, खसखसलगायतका गाउँका नागरिकलाई पालिका केन्द्र मजुवा र गलकोट हटिया बजारमा पुग्न सहज हुने गैरेले बताउनुभयो । नगरपालिकाले यससँगै अन्य ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उहाँको भनाइ छ ।
नगरप्रमुख गैरेले भन्नुभयो, “यो सडक खुलाउने बेला निर्माण समितिको सचिव मै थिएँ, यहाँका नागरिकले पैसा उठाएर ट्रयाक खुलाएका हौँ, अहिलेसम्म सडकको दुरावस्था थियो, अब सुधार हुँदै जाने छ, डेढ दशकपछि सडक राम्रो बन्न थालेपछि स्थानीय पनि खुसी भएका छन्, गाउँलेले लगानी गरेको लाखौँ रुपैयाँले बनेको यो सडकमा सरकारले पनि बर्सेनि बजेट विनियोजन गरेर काम गर्दै आएको छ, केही समयपछि कालोपत्र पनि हुने छ ।”
नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले पक्की नाली, मेसेरेनरी वाल, ग्याबिन निर्माण र सडक फराकिलो बनाउने काम भइरहेको बताउनुभयो । सडक निर्माणका लागि थ्री ब्रोदर्श कन्स्ट्रक्सनले गत मङ्सिरमा जिम्मा लिएको उहाँको भनाइ छ । असार मसान्तसम्म सक्नेगरी सम्झौता भए पनि निर्माण कम्पनीले यही महिनाको अन्तिममा सक्नेगरी काम गरेको इन्जिनियर दाहाल बताउनुहुन्छ । निर्माण कम्पनीले ४६ लाखमा सडक स्तारोन्नतिको जिम्मा लिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै