
काठमाडौँ । चन्द्रागिरी नगरपालिका–६ स्थित चन्दन भराटेश्वर महादेवस्थल परिसरका सम्पदाको प्रारम्भिक अध्ययनले सम्पदा तीन सय वर्षअघिका मल्लकालीन भएको प्रमाण प्राप्त भएको छ ।
पुरातत्वविद् एवं छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठ तथा वडा प्रतिनिधिसहितको टोलीले गरेको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो । ‘अध्ययनका क्रममा नेपाल संवत् ८०९ (तीन सय ३५ वर्षअघि) को एउटा र नेपाल संवत् ८३२ (तीन सय १२ वर्षअघि) का शिलालेख भेटिएका छन् । त्यसले यहाँ थप पुरातात्विक सम्पदा हुनसक्ने सङ्केत गरेको छ’ श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार नेसं ८०९ चैत्र शुक्ल मिति उल्लेखित शिलालेखमा ‘श्री ३ योगनरेन्द्र मल्ल’ लेखिनुका साथै ‘नास द्योछें’ उल्लेख छ ।
‘यसको अर्थ यहाँ नृत्यका देवता राखिने घर (नास द्यो छेँ) थियो भन्ने हो’ श्रेष्ठले भन्नुभयो । कालक्रममा नास द्यो छेँ भत्किएर पुरिएको र शिलालेख चाहीँ बाहिर रहेको हुनसक्ने उहाँको अनुमान छ । यसले सो क्षेत्रमा ठूला सम्पदा रहेको सङ्केत गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी नेसं ८३२ को शिला लेखमा ‘काशीनाथ भारो (सम्भवतः थर) र शिव भारोले गणेशको मूर्ति स्थापना गरेको’ उल्लेख छ । त्यतिबेला कीर्तिपुरदेखि थानकोटसम्मको क्षेत्र काठमाडौँ उपत्यकाका तीन राज्यमध्ये पाटनको अधिनस्थ रहेकाले योगनरेन्द्र मल्लको नाम उल्लेख भएको पनि पुरातत्वविद् श्रेष्ठले बताउनुभयो ।
त्यही स्थानमा तीन वर्षअघि चन्दन भराटेश्वर मन्दिर परिसरको दक्षिण पूर्वी कुनामा रहेको पार्वती कुण्ड सफा गर्दा एउटा ठूलो ढुुङ्गेधारा भेटिएको थियो । त्यसपछि जनप्रतिनिधिले पुरातत्वविद्लाई थप अध्ययन गरिदिन अनुरोध गरेका थिए । ‘मकर आकृतिको त्यो धारा प्राचीन हो । तर कति पुरानो (लिच्छवी वा मल्लकालको) हुन् भन्ने कुराको निक्र्योलका लागि थप अध्ययन गर्नुपर्छ’ पुरातत्वविद् श्रेष्ठले भन्नुभयो । यसका लागि फागुनको दोस्रो सातादेखि उक्त क्षेत्रमा थप उत्खनन गर्नुपर्ने वा नपर्नेबारे अध्ययन गरिने उहाँले जानकारी दिनुभएको छ ।
वडाध्यक्ष सञ्जय सिग्देलका अनुसार जनप्रतिनिधिले लामो समयअघिदेखि चन्दन भराटेश्वर क्षेत्रको उत्खनन गर्नुपर्ने माग राख्दै आएका थिए । मकर आकृतिको धाराको आकार प्रकार र त्यसमा कुँदिएका बुटाका आधारमा पुरातत्वविद्ले लिच्छविकालीन हुनसक्ने अनुमान गरेका उहाँको भनाई छ ।
पछिल्लो समय नगरपालिकाले चन्दन भराटेश्वर मन्दिर परिसरमा गुठी, क्लब र ज्येष्ठ नागरिक भवन बनाउने गरी गुरु योजना मनाइरहेको छ । त्यसअघि नै त्यहाँ उत्खनन गरेर प्राप्त सम्पदाको व्यवस्थापन गर्ने र आवश्यकता परे गुरु योजनासमेत संशोधन गर्नुपर्ने अवस्था आउने चन्द्रागिररी नगरपालिका प्रमुख घनश्याम गिरीको भनाई छ।
वडाध्यक्ष सिग्देलका अनुसार उक्त मन्दिर परिसरसहित वडा नम्बर ६ मा भेटिएका अन्य सम्पदाको संरक्षणका लागि पनि पुरातत्व विभागसँग समन्वय भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा