
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय तेस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । यसअघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । बुधबार बसेको मन्त्रिस्तरीय बैठकले उक्त वक्तव्य अनुमोदन गरेको थियो ।
बैठकमा भारत र भूटानका मन्त्रीको भौतिक उपस्थिति थियो भने बङ्गलादेश, म्यान्मार र श्रीलङ्काका मन्त्रीहरू ‘भर्चुअल’ माध्यमबाट सहभागी हुनुभयो । बैठकमा क्षेत्रीय कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रको सहकार्यलाई प्रवर्द्धन गर्ने र यस क्षेत्रका कृषि सम्बद्ध मुख्य चुनौतीहरूको समाधान गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
बैठकको अध्यक्षता गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको विकासका लागि बिम्स्टेक सदस्यीय राष्ट्रहरूको सहकार्यमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तन, विषादीको बढ्दो प्रयोगले बिम्स्टेकअन्तर्गतका राष्ट्रहरूमा चुनौती थपेको उल्लेख गर्दै यसको सामनाका लागि आपसमा सहकार्यको आवश्यकता औँल्याउनुभयो ।
बैठकमा बिम्स्टेक राष्ट्रहरूमा कृषि क्षेत्रमा भएका कार्यक्रम र कृषि क्षेत्रको सहकार्यको कार्ययोजना कार्यान्वयनको प्रगति समीक्षा, कृषि क्षेत्रको भावी लक्ष्य र योजनाहरूमा छलफल गरिएको थियो ।
बिम्स्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डारको स्थापना र क्षेत्रीय बीउ भण्डार स्थापना, क्षेत्रीय कृषि व्यापारको प्रवर्द्धनका विषयमा भएको सहमतिका अतिरिक्त सदस्य राष्ट्रको कृषि क्षेत्रमा क्षमता विकासका लागिसमेत विशेष पहल गर्ने सहमति भएको जारी वक्तव्यमा उल्लेख छ ।
यस्तै, कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धनका लागि बिम्स्टेक सेन्टर अफ एक्सिलेन्स र कृषि विकासमा डिजिटल सार्वजनिक पूर्वाधारको स्थापनाका लागि सदस्य राष्ट्र भारतबाट अवधारणा प्रस्तुत भएको थियो । साथै, पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्यका लागि नयाँ कार्ययोजनाको अनुमोदन गरिएको र कृषि क्षेत्रका विकासका कार्ययोजनाअनुसार सम्भाव्य क्रियाकलापहरूबारे छलफल भएको जनाइएको छ ।
यस अवसरमा नेपालमा सन् २०२५ को जुन महिनामा आयोजना हुने पर्वतीय कृषि प्रविधि कार्यशाला र श्रीलङ्कामा जलवायु स्मार्ट कृषि केन्द्रको स्थापनाका विषयमा समेत छलफल भएको छ । सदस्य राष्ट्र श्रीलङ्काले सन् २०२७ मा हुने आगामी चौथो बिम्स्टेक कृषि मन्त्रिस्तरीय बैठक तथा उच्च अधिकारीहरूको बैठक आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
आजै कृषिमन्त्री अधिकारीले भारतका कृषिमन्त्री शिवराज सिंह चौहान र भूटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सोसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । नेपाल र भूटानबीच कृषि क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठक बसी साझा हितका विषयमा छलफल भयो ।
बैठकमा प्राङ्गारिक खेती अनुसन्धान, प्रविधि विकास, जलवायुमैत्री कृषि प्रणाली विकास, कृषि र पशुपन्छी आनुवंशिक स्रोतको आदानप्रदान, कृषि व्यापार लगायत विषयमा छलफल भएको कृषिमन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई खुल्लापत्र
- ‘कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो’
- ‘विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ’
- वाग्द्वार स्नान मेलामा भक्तजनको घुइँचो
- एमाले सचिवालय बैठक शुरु
- विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
- ‘सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त’
- ‘समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक’
- ‘उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार’
- नववर्ष २०८२ प्रारम्भ, हर्षोल्लास साथ मनाइँदै