
ओखलढुङ्ग । घरमा हुने सुत्केरी दर शून्य बनाउन सरकारले विभिन्न अभियान सञ्चालन गरेको छ ।
जिल्लामा सरकारी संयन्त्रले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरिरहेका छन् । पायक पार्ने स्थानमा चौबिसै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर स्थापना भएका छन् । तर ओखलढुङ्गामा अझै घरमा सुत्केरी हुने क्रम रोकिएको छैन । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा २९ जना घरमै सुत्केरी भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्कानुसार चालु आवमा सबैभन्दा बढी चिशङ्खुगढी गाउँपालिकामा ८ जना गर्भवती घरमै सुत्केरी भएका छन् । त्यस्तै सिद्धिचरण नगरपालिकामा चार, मोलुङमा तीन, खिजीदेम्बामा पाँच, चम्पादेवीमा सात, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिकामा एक–एक जना घरमै सुत्केरी भएका छन् । लिखु गाउँपालिकामा भने चालु आर्वमा घरमा सुत्केरी भएको तथ्याङ्क छैन ।
पछिल्ला तीन आवमा ११६ गर्भवती घरमै सुत्केरी भएका छन् । आव २०८०/८१ मा ४५ र आव २०७९/८० मा ४२ जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विवेक पोखरेलले बताउनुभयो । सुरक्षित मातृत्व कार्यक्रम र गाउँगाउँमा दक्ष स्वास्थ्यकर्मीसहित प्रसूतिगृह सञ्चालन गरेर संस्थागत सुत्केरी गराउन पहल गरिए पनि अझै घरमै सुत्केरी हुने क्रम नरोकिएको सूचना अधिकारी पोखरेलको भनाइ छ ।
‘नियमित गर्भजाँच र सुरक्षित सुत्केरीका लागि सचेतना र जागरणका कार्यक्रम सञ्चालन गरिएको छ । प्रसूतिगृह ठाउँठाउँमा सञ्चालनमा छन् तर घरमा सुत्केरी हुने क्रम रोकिएको छैन’ पोखरेलले
भन्नुभयो, “यद्यपि विगतमा भन्दा केही सुधार आएको छ । जिल्लाका सबै स्थानीय तह र सरोकारवाला निकायले थप पहल गर्ने र नागरिक आफैँ बढी सचेत हुने हो भने यो समस्या समाधान हुन्छ ।” स्वयंसेविका, स्वास्थ्यकर्मी र आमा समूहमार्फत पनि सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेर नियमित गर्भजाँच गराउने, घरमा हुने सुत्केरीको दर घटाउने, मातृशिशु मृत्युदर शून्य बनाउनेजस्ता अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
एक वर्षमा ९१ महिला उमेर नपुग्दै सुत्केरी
ओखलढुङ्गामा विवाहयोग्य उमेरअगावै सुत्केरी हुनेको सङ्ख्या बढेको छ । वालविवाह हुनेक्रम नरोकिएको यस जिल्लामा आठ महिनामा ९१ जना किशोरीले प्रजनन उमेरअगावै बच्चा जन्माएका हुन् । चालु आवको साउनदेखि फागुन मसान्तसम्म ९१ जना महिला २० वर्ष नपुग्दै सुत्केरी भएको स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विवेक पोखरेलले बताउनुभयो । कार्यालयका अनुसार सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा २९ जना किशोरी सुत्केरी भएका छन् ।
मानेभञ्ज्याङमा १७, चम्पादेवीमा १३ र सुनकोशीमा आठ जना कम उमेरमा सुत्केरी भएका छन् । लिखु, खिजीदेम्बा र मोलुङ गाउँपालिकामा सात–सात जना र सबैभन्दा कम चिशङ्खुगढी गाउँपालिकामा तीन जना सरकारले तोकेको विवाह गर्ने उमेर नपुग्दै सुत्केरी भएका छन् ।
जिल्ला अस्पताल, ओखलढुङ्गा सामुदायिक अस्पताल र जिल्लाका विभिन्न स्थानीय तहका बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाको उमेरअनुसार यो तथ्याङ्क सङ्कलन गरिएको छ । जिल्लामा विगतमा परिवारको दबाबमा उमेर नपुग्दै मागी विवाह गर्ने चलन थियो । अहिले पारिवारिक दबाबमा मागी विवाह गर्ने क्रम घटेपछि २० वर्ष नपुग्दै प्रेम विवाह गर्नेको सङ्ख्या बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ
- आगामी बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग परामर्श
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन
- वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो
- हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
- रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?
- चलचित्र विधेयक संसदमा पेश हुने