
धनुषा । सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदैछ ।
भगवान रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ । शनिबारदेखि भारतको विभिन्न भेगका साथै नेपालको विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजनासहित साधुसन्त रामनवमी पर्व मनाउन जनकपुरधाममा आएका छन् । मर्यादा पुरुषोत्तम रामको जन्मजयन्तीका अवसरमा आज यहाँ रामनवमी महोत्सव आयोजना गरिएको छ ।
रामको प्रेमभूमि र सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तसहित श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्वले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर परिसरमा श्रद्धालुद्वारा भजनकीर्तनका साथै मिथिलाञ्चलमा जन्मसंस्कारमा गाइने गीतले रामको जन्मोत्सवमा झैँ अनुभूति भइरहेको छ ।
‘त्रेतायुगमा चैत्रशुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख गरिएको छ । अयोध्याका राजा दशरथपुत्र राम सूर्यवंशी क्षत्रिय राजकूलका ६१ औँं पुस्ताका रूपमा मानिन्छन् । ‘राम शब्द रम धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हुन्छ । विद्वानहरूले यसलाई विभिन्न अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने क्षमता छ, त्यही क्षमताबाट उहाँको नाम राम भएको ग्रन्थमा उल्लेख छ’ मन्दिरका महन्त वैष्वले भन्नुभयो ।
राम परब्रह्मा, परमतप र परमतारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेका पाइन्छ । महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा बढी शहर रहेका पाइएको वैष्वले जानकारी दिनुभयो ।
धार्मिक ग्रन्थमा शिवको रामभक्ति तथा हनुमान, नारद, अत्रि, अनुसूया, भरत, शवरीलगायतको रामप्रतिको प्रेम, भक्ति र उपासनाका बारेमा चर्चा गरिएको छ । कल्याणस्वरूप र सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक हुन् । जसले रामनवमी व्रत गर्छ, त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भन्ने शास्त्रमा वर्णन गरिएको महन्त वैष्वले बताउनुभयो । उहाँका अनुसार विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भने उहाँको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणाका स्रोत मानिन्छन् ।
आज पनि सुशासन, सुव्यवस्था लगायत लोककल्याणकारी, आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा पूर्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाई व्याख्या गर्ने गरिएको जानकारहरू बताउँछन् ।
देशभक्ति, पितृभक्ति, मातृभक्ति, भातृप्रेम, प्रजावत्सलता, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता र वीरताका उदाहरण दिँदा पनि रामलाई सम्झिने गरिएको राम मन्दिरका महन्त गिरीले उल्लेख गर्नुभयो । रामको जन्मोत्सवका अवसरमा आज यहाँ विधिवत् पूजाअर्चना गरिने र साँझमा बधाई गानसहित झाँकी तथा गीतनाद आयोजना हुने उहाँले जानकारी दिनुभयो ।
कुर्था–जनकपुर–जयनगर मार्गमा नेपाल रेल्वे सञ्चालन भएकाले यहाँका जानकी मन्दिर र राम मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहले बताउनुभयो ।
शोभायात्रा, झाँकी तथा सांस्कृतिक कार्यक्रममा धार्मिक मर्यादा कायम राख्न सबैलाई आग्रह गरिएको बताउँदै उहाँले शान्ति, सुव्यवस्था र धार्मिक सौहार्द कायम राख्न स्थानीय प्रशासनले आवश्यक तयारी गरेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन