
खोटाङ । धार्मिकस्थल हलेसीमा १५ दिने रामनवमी मेला शुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो ।
रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ ।
हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिनुभयो । ‘रामनवमीको अघिल्लो रात जाग्राम बस्ने चलन छ । आज पञ्चेबाजासहित गहना लगेर महादेव पहिर्याउने गरिन्छ’ उहाँले भन्नुभयो ।
काठमाडौँ लगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने दर्शनार्थीको सङ्ख्या बढेको हो । मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न जिल्लास्थित तीनवटै सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिनुभयो ।
हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धारजस्ता विभिन्न द्वार अवस्थित छन् । प्राकृतिक भूबनोटको हिसाबले पनि विश्वकै नमूना मानिने हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठिक पछाडिपट्टि पर्छ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहारजस्तो देखिन्छ ।
हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । रामनवमीका अवसर पारेर हलेसीमा १५ दिनसम्म लाग्ने मेलामा करोडौँको कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । पछिल्लो समय यहाँ दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको हो । हलेसी परिसरका २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको छ ।
रामनवमीको अवसर पारेर आज जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल (बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट, मैयुङ) लगायत ठाउँमा ठूलो मेला लाग्ने गरेको छ ।
पछिल्लो समय रामनवमीको अवसर पारेर जिल्लाका पर्यटकीयस्थलमा घुम्न तथा वनभोज खान जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता
- राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल
- एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण
- रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने
- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : लिङ्देन
- बालेनद्वारा राप्रपालाई धन्यवाद
- आन्दोलनरत शिक्षकलाई सरकारले पुनः वार्तामा बोलायो
- प्रतिगमनको ढोका खोल्न संविधान संशोधन गर्दैनौँ : प्रधानमन्त्री
- फेरि कम्युनिस्ट एकता असम्भव छैन : प्रचण्ड
- शिक्षकहरुले दिउँसै बत्ती बालेर खोजे सरकार