
महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ ।
आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र प्रारम्भ भएको छ । यसैभित्र चैतीछठ मनाइने हिन्दू मैथिल परम्परा छ । यसपालि वासन्ती नवरात्रभित्रै इस्लाम धमावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा यहाँको परिवेश पर्वमय बनेको हो ।
हिन्दू परम्पराका मैथिल अहिले वासन्ती नवरात्रको तयारीमा छन् । चैत शुक्ल प्रतिपदासँगै शुरु हुने वासन्ती नवरात्रका अवसरमा मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा आज घटस्थापना गरिँदै छ ।
चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म ९ दिन मनाइने वासन्ती नवरात्रमा दिनैपिच्छे नवदुर्गाको पूजाआराधनाको मैथिल परम्परा छ । हिन्दू परम्परामा वर्षको दुईपटक नवरात्र मनाइन्छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको शारदीय नवरात्र र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको लाई वासन्ती नवरात्र भनिन्छ । दुवै नवरात्रमा समान विधिले नवदुर्गा भवानीको आराधना गरिन्छ ।
शारदीय नवरात्रपछि दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने चलन भने वासन्ती नवरात्रमा छैन । नवरात्रको पहिलो दिन नयाँ माटाका घडामा पूर्णकलश स्थापना गरेर नवदुर्गाको आराधनासँगै चण्डी पाठको परम्परा छ । यी ९ दिनमा देवी दुर्गाका ९ रुप क्रमशः शैलपत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ ।
नवरात्रको प्रारम्भसँगै मिथिलाका देवी शक्तिपीठमा देवीका भजन गुञ्जन थालेका छन् । महोत्तरीका बर्दिबासस्थित पञ्चधुरा माई मन्दिर, औरहीको भोइलस्थित सोनामाई मन्दिर र जलेश्वरस्थित राजदेवी माई मन्दिरमा वासन्ती नवरात्रका अवसरमा विशेष पूजाआराधनाको तयारी छ । जलेश्वरनाथ महादेव मन्दिर परिसरस्थित त्रिशूली देवीको मन्दिर पनि आजदेखि सर्वसाधारणको दर्शनका लागि खुला गरिने छ । त्रिशूलीदेवीको मन्दिर शारदीय र वासन्ती दुवै नवरात्र अवधिभरिमात्र सर्वसाधारणको दर्शनका लागि खोलिने परम्परा छ ।
मिथिलामा वासन्ती नवरात्रभित्रै बोलीचालीमा चैतीछठ भनिने वासन्ती छठको पनि तयारी छ । मैथिल हिन्दू परम्परामा छठ पनि शारदीय र वासन्ती गरी दुईपटक मनाइन्छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्मको तिथिलाई शारदीय र चैत शुक्ल चौथीदेखि सप्तमीसम्मलाई वासन्ती छठ भनिन्छ ।
यसपाली यसै नवरात्रभित्र इस्लाम धर्मावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा मिथिला क्षेत्र अहिले पर्वमय बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन