
धनकुटा । छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ । जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्याइन लागिएको हो ।
सङ्घीय सरकारको रु १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट उत्तर–पश्चिम १४ किमी खानेपानी लिफ्टिङ पूर्वाधारको काम जारी छ । उक्त खानेपानी आयोजनाबाट एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिनुभयो ।
सातवटा ‘लिफ्टिङ स्टेशन’ र चार वितरण केन्द्र रहेको यस आयोजनाले सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्र, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने जनाइएको छ । गाउँमा भर्खरै कालोपत्र सडक आइपुगेको र खानेपानीसमेत उपलव्ध हुँदा अब गाउँबाट बसाइँसराइ रोकिने उहाँको भनाइ छ ।
खानेपानी समस्याका कारण बसाइँसराइले रित्तिन लागेको गाउँमा यस आयोजनाले पुनः मानिस फर्केर आउने आशा पलाएको वडा नं ४ का सचिव शङ्कर ओझाले जानकारी दिनुभयो । विसं २०७९ माघबाट दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको छ । हालसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको कम्पनीका सञ्चालक गुणराज अधिकारीले जानकारी दिनुभयो ।
योजना अन्तर्गतस ७० किमी पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्याङ्की र चारवटा सुरक्षा भवनको काम सकिएको उहाँले जानकारी दिनुभयो । काम गरेको रु दुई करोड ५० लाख रकम निकासा नपाउँदा आफूलाई काम गर्न कठिन भएको उहाँले गुनासो गर्नुभयो ।
बजेट अभावका कारण ठेक्काको बाँकी रकम आउनेसमेत टुङ्गो नभएकाले काम रोकिन लागेको उहाँले जानकारी दिनुभयो । “खानेपानी विभागले बजेटको टुङ्गो छैन, पैसा नआएसम्म काम नगर्नु भन्ने मौखिक जानकारी गराएको छ”, उहाँले भन्नुभयो ।समयमा बजेट उपलव्ध भए अगामी असार मसान्तसम्म काम सकेर साउन–भदौबाट खानेपानी परीक्षण सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’
- नगरकोट भ्रमण वर्षमा एक लाख पर्यटक
- शिक्षकहरुको माग सम्बोधन हुनेगरी शिक्षा विधेयक ल्याइने
- विश्वकप एशिया छनोटः नेपालसँग हङकङ् पराजित
- राष्ट्रपतिद्वारा संसद् अधिवशेन आह्वान
- सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
- सगरमाथा क्षेत्रमा पर्यटक वृद्धिः चैतमा १२ हजार भित्रिए
- रामेछापबाट लुक्ला उडेको जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध
- सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
- सुनसरीमा गाँजा तस्करद्वारा गोली प्रहार, तीनजना पक्राउ