
म्याग्दी । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ ।
विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो ।
पूर्वाधार विकास कार्यालयले म्याग्दीका प्रमुख विष्णु पौडेलले मङ्गला गाउँपालिका–३ पखेरदेखि बरङ्जाखण्डको सडक स्तरोन्नति गर्न सञ्चालन गरेको योजना निर्माण शुरु भएको ३ महिनामा ४० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो ।
‘गत मङ्सिर महिनादेखि कार्यक्षेत्रमा परिचालित भएको निर्माण कम्पनीले यस वर्ष विनियोजन भएको एक करोड ६० लाख रुपैयाँ बराबरको काम ३ महिनामै गरेको छ’ उहाँले भन्नुभयो– ‘विनियोजित बजेट सकिएपछि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव गरेका छौँ ।’
पखेरदेखि खर्कटोलसम्म तीन किलोमिटर पाँच सय मिटर सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण गरिरहेको छ । खर्कटोलका बासिन्दा वीरबहादुर पौडेलका अनुसार ३ देखि ३ दशमलव ५ मिटर फराकिलो कच्चि सडकको घुम्ती, ग्रेड नमिलेको, साँघुरो सडक जोखिमयुक्त थियो । सडक स्तरोन्नति भएपछि यात्रा सहज हुने अपेक्षा गरेको उहाँले बताउनुभयो ।
ग्रेड र घुम्ती सुधार, नाली र पर्खाल निर्माण सकेपछि ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना छ । निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बजेट अभावका कारण धमाधम भइरहेको सडक निर्माणको काम रोक्नुपर्ने अवस्था आएको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँ व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीले २०८१ असारमा ५ करोड ८६ लाख ३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्काको अवधि १८ महिनाको हो ।
म्याग्दी १९२० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गत वर्ष २ करोड रुपैयाँ विनियोजन गरेर आर्थिक मामिला मन्त्रालयबाट स्रोत सुनिश्चितता गराई ठेक्का लगाएको योजनामा यसपालि बजेट कटौती गर्दा निर्माण प्रभावित भएको बताउनुभयो ।
‘प्रदेश सरकारबाट पखेर–बरङ्जासहित म्याग्दीमा एकैसाथ सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता भएको थियो’ उहाँले भन्नुभयो– ‘ पाँच करोड बजेट चाहिने योजनाका लागि दुई करोड र एक करोड ६० लाखका दरले बजेट विनियोजन गरेकाले निर्माण कार्य प्रभावित भएको हो ।’
बजेट अभावका कारण म्याग्दीका सडक र मोटरेबल पुल निर्माण आयोजना प्रभावित भएका विषयमा गत साताको प्रदेशसभाको बैठकको शून्य समयमा जुग्जालीले सरकारको ध्यानाकर्षण गराउँदै विभागीयमन्त्रीको जवाफ माग्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल