+

नतिजाका आधारमा विद्यालयलाई अनुदान

कैलाली । जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन शुरु गरेको छ । गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।


गाउँपालिकाले विद्यालयलाई विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा अनुदान दिन शुरु गरेको हो । नतिजाकै आधारमा गाउँपालिकाले चालु आर्थिक वर्षमा विद्यालयलाई अनुदान दिएको छ । 


आधारभूत तहमा कक्षा ८ को परीक्षा र एसइईको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई अनुदान दिएको हो । जसअनुसार माध्यमिक तहतर्फ भृकुटी मावि प्रथम भएको छ । जसले चार लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । त्यसैगरी दोस्रो जनता नमूना मावि मुनुवाले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।  तेस्रो अरुणोदय मावि खैरीफाँटाले  एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । 

आधारभूत तहतर्फ राष्ट्रिय आधारभूत विद्यालय खैरीपुर प्रथम भएको छ । राष्ट्रिय आधारभूत विद्यालयले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोस्रो हिमालय राष्ट्रिय मावि अमरावतीले २ लाख रुपैयाँ प्राप्त गरेको छ । यसले विद्यालयलाई प्रतिस्पर्धामा ल्याउने विश्वास गाउँपालिकाको छ ।

गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयको गुणस्तर सुधार गर्न र विद्यार्थीको सिकाइ उपलब्धि बढाउनका साथै विद्यालयलाई प्रतिस्पर्धी बनाउन गाउँपालिकाले विद्यालयलाई नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताउनुभएको छ । ‘पहिलो वर्ष आधारभूत तह र माध्यमिक तहको कक्षा ८ र १० लाई प्राथमिकतामा राखिएको थियो । आउँदो वर्षदेखि कक्षा ५ को परीक्षा नतिजाका आधारमा पनि विद्यालयले अनुदान पाउनेछन्’ अध्यक्ष चौधरीले भन्नुभयो– ‘यस कार्यक्रमले शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले विद्यालय र विद्यार्थीलाई सवल बनाउन गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम शुरु गरेको बताउनुभयो । ‘यो कार्यविधिले विद्यालय तथा शिक्षकलाई चुनौती पनि थपेको छ । साथै विद्यालयलाई नतिजा सुधारमा प्रतिस्पर्धी पनि बनाउने छ’ उहाँले भन्नुभयो– ‘यसले आगामी दिनमा गाउँपालिकाले चाहेको शैक्षिक गुणस्तर कायम गर्नमा मद्दत पुग्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै