+

सिद्धेश्वर गुफाको प्रवर्द्धन गर्न विस्तृत अध्ययन

तनहुँ । म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ । 

म्याग्दे गाउँपालिकाका प्राविधिकले मङ्सिर ९ देखि १२ गतेसम्म त्यो ठाउँको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका हुन् । यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित अध्ययन गरी सुधारका योजनासहितको प्रतिवेदन तयार गरिएको निलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले बताउनुभयो । 

पर्यटकीय सम्भावना भए पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेपछि प्रवर्द्धनका लागि पहल गरिएको उहाँले बताउनुभयो । यहाँको प्रचारप्रसार तथा पर्यटकीय सम्भावनालाई उजागर गरी धार्मिक गन्तव्यस्थल बनाउने उद्देश्यले स्थानीयवासी जुटेका हुन् । 

धेरै वर्ष पहिलादेखि यहाँ रहेको यो गुफाको आवश्यक संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा परेको बताउँदै आचार्यले यसको संरक्षण गरेर पर्यटकीय गतिविधि विस्तारमा जोड दिइएको उल्लेख गर्नुभयो । 

‘यस गुफाका बारेमा धेरैलाई थाहा छैन, सामाजिक सञ्जालमार्फत हामीले प्रचारप्रसारमा जोड दिएका छौँ’ उहाँले भन्नुभयो– ‘स्थानीय सरकारलाई पनि यहाँ सम्भावना उजागरमा सहयोगसहित पूर्वाधार विकासका लागि अनुरोध गरेका छौँ । त्यो अनुरुप पहिलो चरणको अध्ययन सकिएको छ । अब पूर्वाधार निर्माणमा जोड दिनेछौँ ।’

आचार्यसहित स्थानीयवासीले केही समयअघि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्ख लगायत भगवानमा आकृतिसहितका संरचना फेला पारेका हुन् । उहाँले भन्नुभयो– ‘गुफाभित्र शिवलिङ्ग भएका बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा  शिवलिङ्ग भेटियो । नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ । शिवलिङ्गमा आफैँ जल चुहिने गरेको छ ।’ शिवलिङ्गको माथिपट्टि रहेको ढुङ्गाबाट आफैँ जल चुहिएर शिवलिङ्गमा झर्ने गरेको उहाँको भनाइ छ । 

आचार्यले भन्नुभयो– ‘परापूर्वकालमा यस ठाउँमा भगवान् शिवजीले बास गरेको विश्वास स्थानीयमा छ । यहाँ एक सय आठ बेलका वृक्ष पनि छन् । यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्ने कुरामा द्विविधा छैन । यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भनेर हामी जुटेका हौँ ।’

सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि स्थानीय सरकारले पनि चासो देखाएको छ । यस ठाउँलाई म्याग्दे गाउँपालिकाको पर्यटकीयस्थलका रूपमा लिँदै आगामी दिनमा यसको व्यवस्थापनमा पालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो– ‘गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार, प्रवर्द्धन, पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ । यहाँको विकासका लागि पालिकाले निरन्तर सहयोग गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै