+

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति शुरु

म्याग्दी । मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति शुरु भएको छ । 

गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा म¬ङ्गला गाउँपालिका–३ पखेर–बरङ्जा खण्डको सडक स्तरोन्नतिको काम थालेको हो ।

मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर रोकाका अनुसार २०६६ सालमा मार्ग खुलेको मङ्गला–३ र ४ नम्बर वडा तथा बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो ।  

प्रदेश सरकारले  १० करोड रुपैयाँ व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीसँग ५ करोड ८६ लाख ३ हजार रुपैयाँ मा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । 

गत असारमा ठेक्का सम्झौता भएको यो योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । पखेरबाट बरङ्जातर्फ तीन किलोमिटर पाँच सय मिटर दूरीमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने, पानी निकासका निम्ति नाली र पर्खाल निर्माण गरी ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना रहेको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको यस आयोजनामा यस वर्ष १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । सरकारले बजेट व्यवस्थापन गरेमा पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर चालु आर्थिक वर्षमै सडक निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बताउनुभयो । 

प्रदेश सरकारमार्फत पखेर–बरङजासहित म्याग्दीमा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण शुरु भएको छ । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै