
तनहुँ । व्यास नगरपालिका–३ देउरालीनगर निवासी नन्दु थापा महिलाको भेषमा सजिएर नृत्य गर्दै हुनुहुन्छ । प्रायः महिलाले लगाउने पोसाक लगाएर उहाँ मगर समुदायको कार्यक्रममा नृत्य गर्दै गरेको अवस्थामा भेटिनुहुन्छ ।
मगर सुधार समितिमा आबद्ध नन्दु पाउदुरे नृत्यका लागि महिलाको भेषमा सजिनुभएको हो । पुरुष महिला बनेर नाच्ने पाउदुरे मगर समुदायको प्रख्यात नाच हो तर हिजोआज यो नाच लोप हुन थालेकाले संरक्षण गर्नुपर्ने आवश्यकता खड्किएको छ । ‘लोप हुन लागेको नाच संरक्षण गर्नुपर्छ भनेर आफूहरु लागिपरेका हौँ’ उहाँले भन्नुभयो– ‘पहिला गाउँघरमा पाउदुरे नाच नाचिन्थ्यो तर अहिले त्यस्तो छैन । यो नाच लोप हुँदै गएको महसुस भएको छ । युवा पुस्ताको यसमा आकर्षण नहुँदा वृद्ध भएका मगर समुदायका व्यक्तिहरुले यसलाई संरक्षण गर्नुपरेको छ ।’
यस नाचका लागि युवाको आकर्षण नभएको मगर सुधार समितिका उपाध्यक्ष इन्द्रबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘संस्कृति लोप हुन दिनहुन्न भनेर समितिमा आबद्ध व्यक्तिहरुको सहभागितामा हरेक कार्यक्रममा यो नाच देखाउँदै आएका छौँ । यसले संस्कृति संरक्षणमा सहयोग पुगेको विश्वास गरेका छौँ ।’
विभिन्न जातजातिले फरक तरिकाले नाच्ने यो नाचमा बिजबारे, मारुनी, मादलेलगायत पर्छ । यो नाच पुरुषले गुन्युचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने प्रचलन छ । छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भन्ने गरिएको मगर समुदायका अगुवाले बताए । पाउदुरे नाच्दा बिजबारेकै भावलाई समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ । गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भन्ने गरिन्छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन मादलेलगायतले पनि गीतलाई हो मा हो मिलाउने प्रचलन रहेको अगुवा यामबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘आफ्नो संस्कृति संरक्षणका लागि आफैँ जागरुक हुने हो । मगर समुदाय त्यही अभियानमा सक्रिय छन् ।’
अगुवा आलेका अनुसार पहिला पहिला सबै गीत मगर भाषामा गाउने गरिए पनि आजभोलि त्यस्तो प्रचलन हट्दै गएको छ । नेपाल मगर सङ्घले आफूले गर्ने कार्यक्रमहरुमा संस्कृति संरक्षणलाई प्राथमिकतामा दिने गरेको छ । मगर सङ्घ व्यास नगर समितिका सचिव अमरबहादुर थापाले मौलिकता उजागर गर्दै संस्कृति संरक्षणका लागि प्रयास गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले हरेक कार्यक्रममा मगर समुदायको प्रचलनमा रहेका पाउदुरे, झ्याउरे, कौरा नृत्यलाई प्राथमिकतामा दिन्छौँ । यसले कला संस्कृतिको संरक्षणमा टेवा मिल्छ ।’
मगर विद्यार्थी सङ्घकी बिनिता आलेमगरले कौरा नृत्य संरक्षण गर्न आफूहरु लागेको बताउनुभयो । तनहुँको कौरा नृत्य देशभर प्रख्यात रहेकाले सङ्घमा आवद्ध छात्राले यसलाई संरक्षण गर्दै आएको उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’