धनुषा । यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु भएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षता तथा प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको प्रमुख आतिथ्यमा आज जनकपुरधाममा भएको सर्वपक्षीय बैठकले विवाह पञ्चमी महामहोत्सवलाई भव्य रुपमा मनाउने निर्णय गरेसँगै तयारी सुरु भएको हो । बैठकले महामहोत्सव तयारी तथा व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरेको छ ।
बेठकले आगामी मङ्सिर १७ गते भारतको अयोध्याबाट आउने जन्तीलाई भव्य स्वागत गर्ने, जन्तीलाई महोत्तरीको मटिहानीमा आइपुगेपछि मटिहानी नगरपालिकाले स्वागत गर्ने र रात्रिको भोजन तथा आवासको व्यवस्थापन गर्ने निर्णय गरेको छ । १८ गते मटिहानीबाट हिँड्ने जन्तीलाई महोत्तरीकै जलेश्वर नगरपालिकाले स्वागत गरेर चिया तथा खाजाको प्रबन्ध गर्नेछ भने सोही दिन पिपरामा जन्तीलाई भोजनको व्यवस्थापन गरिनेछ ।
मङ्सिर १८ गते साँझ जनकपुरधाम आइपुग्ने जन्ती बाह्र बिघा रङ्गभूमि मैदानमा आयोजना गरिने धनुषयज्ञमा सहभागी हुने कार्यक्रम तय भएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । मङ्सिर २१ गते राति जानकी मन्दिरको प्राङ्गणमा मैथिली परम्परानुसार भगवान् राम र माता सीताको प्रतीकात्मक विवाह उत्सव कार्यक्रम हुने उहाँले बताउनुभयो ।
यसअघि मधेश प्रदेश सरकारले जनकपुरधाममा आउने जन्तीको स्वागत तथा सम्मानको कार्यक्रम प्रदेश सरकारको अगुवाइमा गर्ने निर्णय गरेकाले त्यसलाई आजको सर्वपक्षीय बैठकले अनुमोदन गरेको छ । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषा तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उद्योगी, व्यापारी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
सप्ताहव्यापी रूपमा मनाइँदै आएको विवाह पञ्चमी महामहोत्सवमा यस वर्ष भारतको अयोध्याबाट पाँच सयको सङ्ख्यामा साधुसन्त, महन्थ, योगी, सन्यासी, राजनीतिक दलका विशिष्ट व्यक्ति, राम मन्दिर निर्माण समिति अयोध्याका पदाधिकारी तथा विश्व हिन्दू परिषद् भारतका पदाधिकारीहरू सहभागी हुने जनाइएको छ ।
आगामी मङ्सिर १६ गते नगर दर्शनबाट सुरु हुने विवाह पञ्चमी महामहोत्सवअन्तर्गत १७ गते फूलबारी लिला, १८ गते धनुषयज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर तथा २१ गते विवाह उत्सव र २२ गते रामकलेवाको कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते