
भोजपुर । भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो ।
समुद्री सतहबाट १ सय ५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी–९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको सङ्गमस्थलमा रहेको माइबेनीमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । दशक अघिसम्म यहाँ भव्य मेला लाग्ने गरेको भए पनि पछिल्लो समय मेला लाग्न छाडेको स्थानीय ७० वर्षीय अशोक राईले बताउनुभयो । यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । माइबेनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुुर, उदयपुर, धनकुटालगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् ।
‘यो पूर्वको एक प्रसिद्ध धार्मिकस्थल हो’ उहाँले भन्नुभयो– ‘यसको निकै ठूलो धार्मिक महत्व छ । यहाँ दर्शन गर्नका लागि देशका विभिन्न ठाउँबाट आउने गर्दथे । तर पछिल्लो समय यो स्थान ओझेलमा परेको छ ।’ खासगरी मानिस माइबेनीको दर्शनसँगै नदी पूजा गर्नका लागि यहाँ आउने गरेको राईले बताउनुभयो ।
माइबेनीको विकास तथा संरक्षणका लागि ध्यान दिँदै आएको हतुवागढी गाउँपालिकाले जनाएको छ । यहाँ पुग्नका लागि कोप्चेबाट अप्ठयारो ठाउँमा पदमार्ग निर्माण तथा मन्दिरको संरक्षणसँगै घेराबारा गरिएको छ । माइबेनी क्षेत्रको बृहत्तररूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यसलाई गाउँपालिकासँगै जिल्लाको मुख्य धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ ।
माइबेनीबाट किरातको आस्थाको केन्द्र खुवालुङ, अरुण, दूधकोशी र तमोर नदीको सङ्गमस्थल त्रिवेनी तथा बराहक्षेत्र नजिकै भएकाले यसको बृहत्तर विकासमा जोड दिइएको अध्यक्ष राईको भनाई छ । यो क्षेत्रलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने योजना छ । हिउँदको समयमा अरुण नदीमा जेटबोट चल्ने भएकाले यहाँसम्म पुग्न सहज भए पनि वर्षात्को समयमा भने आवतजावतमा समस्या छ ।
यसको नजिकै दूधकोशीपारि उदयपुरको वेलका नगरपालिका–७ र अरुण नदीपारि धनकुटाको शहीदभूमि–१ पर्छ । यो ३ जिल्लाको सङ्गमस्थलका रुपमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’
- नगरकोट भ्रमण वर्षमा एक लाख पर्यटक
- शिक्षकहरुको माग सम्बोधन हुनेगरी शिक्षा विधेयक ल्याइने
- विश्वकप एशिया छनोटः नेपालसँग हङकङ् पराजित
- राष्ट्रपतिद्वारा संसद् अधिवशेन आह्वान
- सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
- सगरमाथा क्षेत्रमा पर्यटक वृद्धिः चैतमा १२ हजार भित्रिए
- रामेछापबाट लुक्ला उडेको जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध
- सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
- सुनसरीमा गाँजा तस्करद्वारा गोली प्रहार, तीनजना पक्राउ