+

चौबिस वर्षपछि हरिबोधनी एकादशी मेलाको तयारी

बागलुङ ।  कुनै समय एकादशीको दिन बागलुङस्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने हरिबोधनी एकादशी मेला २४ वर्षयता भने सञ्चालनमा छैन । 

त्यसताका उक्त मेलामा हजारौँको भिड लाग्ने गर्दथ्यो । किनमेल तथा भेटघाटका लागिसमेत उक्त मेला प्रसिद्ध थियो । हजारौँले नागरिकले डोलामा तोरण बोकेर मेलामा लगिने र मेलाको अवसरमा कालीगण्डकीमा तार्ने परम्परा धेरैको आकर्षणको केन्द्र थियो तर शान्ति सुरक्षा र द्वन्द्वका कारण २४ वर्षयता मेला हुनसकेको छैन ।   

पछिल्लो सयम भने यहाँका स्थानीय अगुवाहरूले मेला आयोजना गर्न चासो देखाएका छन् । त्यसका लागि हरिबोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ । उक्त समितिका अध्यक्ष रमेश राजभण्डारीले औपचारिक रूपमा करिब २४ वर्षसम्म रोकिएको मेला यस वर्षबाट सुनः सञ्चालन गर्ने गरी तयारी सुरु भएको जानकारी दिनुभयो । उहाँले यही कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरिबोधनी एकादशी मेला लाग्ने बताउनुभयो ।

‘विसं २०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको छैन । एकादशीको दिन कालीगण्डकीमा नुहाउन जाने परम्परा रहे पनि संस्थागत रूपमा मेला सञ्चालन हुननसकेपछि पहिलेकै अवस्थामा मेला आयोजना गर्ने हाम्रो योजना छ । त्यसका लागि बुधबारबाटै कालीगण्डीमा तान्ने तोरण बाट्न शुरु गरिएको छ, उक्त दिन व्यक्तिगत रूपमा समेत तोरण लिएर आउन आग्रह गरिएको छ । बाबियो र कुशबाट बनाइने तोरण एक सय ८ मिटरभन्दा बढी लामो हुनेछ । तोरणलाई वैदिक रूपमा निर्माण गरिनेछ? अध्यक्ष राजभण्डारीले भन्नुभयो । 

विसं २०५७ सालअघि एक युवाको छुरा प्रहार गरी हत्या प्रयाससमेत भएपछि रातिमा लाग्ने मेला क्रमशः हराउँदै गएको जानकारहरू बताउँछन् । रातभर जाग्राम बसेर भजनकृतन गर्ने र बिहान कालीगण्डकीमा स्नान गर्ने, तोरण तान्ने र पूजाअर्चना गर्ने, किनमेल गर्ने हरीबोधनी एकादशी मेलालाई २४ वर्षपछि आयोजना गर्न विभिन्न उपसमितिसमेत गठन गरिएका छन् । आरती वाचक तथा गायक रमेश खड्काले पुर्खौँदेखि लाग्दै आएको मेला नेपालकै ठूलो मेलामध्येको एक रहे पनि पछिल्लो समय हराउँदै गएकामा सबै जनाको सल्लाहबमोजिम पुनः सुरु गर्न लागिएको सुनाउनुभयो । मेलाको अवसरमा कालीगण्डकी पुजन, कालीगण्डकी सरसफाइ र दीपसमेत प्रज्वलन गरिने छ । 

यही २६ गते तोरणलाई बागलुङ बजारमा शोभायात्रासहित परिक्रमा गर्ने र २७ गते कालीगण्डकी नदी किनार निरयघाटमा तोरणसहित प्रस्थान गरिने योजना छ । मेला, धार्मिक पूजा, तोरण तान्नेलगायतका क्रियाकलाप सञ्चालन गर्न यस वर्षबाट सुरुआत गरिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । आफ्नो धर्म, संस्कृति र परम्परालाई आगामी दिनमा पर्यटनसँग जोड्नका लागि मेलालाई २४ वर्षपछि निरन्तरता दिन थालिएको उहाँले बताउनुभयो ।

मेलाका लागि तोरण संयोजक, भजन संयोजक, आर्थिक व्यवस्थापन संयोजक, दिप संकलन,  गङ्गा पूजन र सरसफाइ लगायत कार्यक्रमका लागि उपसमिति समेत गठन गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै