
कैलाली । छठ पूजा सेवा समिति धनगढीले यहाँको मोहना नदी तटमा आयोजना गर्ने छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै गएका छन् ।
समितिले यहाँ १२ वर्षदेखि छठ पर्वका अवसरमा मोहना नदी किनारमा पूजा आयोजना गर्दै आएको छ ।समितिका अध्यक्ष सन्तोष मण्डलले छठ पूजाका लागि मोहना नदी किनारमा पाँच वटा घर (टेन्ट) बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आइएकामा विगत केही वर्षयता कम्तीमा तीन सयको हाराहारीमा टेन्ट लगाएर पूजाको कार्यक्रम गर्दै आइएको जानकारी दिनुभयो ।
समितिका अध्यक्ष मण्डलले छठ पूजाको तयारीका लागि शुरुका वर्षमा ३५ हजार रुपैयाँ मात्र खर्च हुने गरेको जनाउँदै बढेर अहिले २० लाख रुपैयाँको हराहारीमा पुगेको उल्लेख गर्नुभयो । उहाँका अनुसार स्थानीय तह, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्था, सर्वसाधारणको सहयोगमा रकम सङ्कलन गरी समितिले प्रत्येक वर्ष पूजा सम्पन्न गर्दै आइरहेको छ ।
शुरुका वर्षमा पूजास्थलमा चहलपहल कम हुने गरेको, सुनसान हुने गरेकामा पछिल्ला केही वर्षयता करिब दुई लाखको हाराहारीमा भक्तालु तथा दर्शनार्थी अवलोकन गर्न आउने गरेका अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।
‘पहिला यो पर्व पहिले विशेष गरी मिथिला समुदायले मात्र मनाउने चलन थियो । पछिल्लो समय अन्य समुदायको पनि उल्लेख्य सहभागिता हुन थालेको छ’ उहाँले भन्नुभयो– ‘निराहार व्रत बसेर मोहना छठी घाटमा तीन सयभन्दा बढी परिवार र अन्य समुदायका व्रतालु पूजा गर्न आउनुहुन्छ । दुई हजारको हाराहरी भक्तजन नदीमा आई सूर्यनारायणलाई फूल तथा जल अर्पण गर्नुहुन्छ ।’
छठ पर्व आउनुभन्दा एक महिना अघिदेखि मोहना नदी तटमा सरसफाइ गरी भव्य रुपमा पूजालाई सफल पार्ने तयारी गरिएको समितिका उपाध्यक्ष रोशनकुमार कर्णले बताउनुभयो । ‘विगतका वर्षमा यो पर्वतर्फ यहाँका अन्य समुदाय तथा स्थानीयको खासै ध्यान हुँदैन्थ्यो’ उहाँले भन्नुभयो– ‘पछिल्ला केही वर्षयता स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म यो पर्व मनाउन र अवलोकन गर्न आउनुहुन्छ ।’
छठमा व्रतालुले परिवारका सदस्यको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तान प्राप्तिलगायत कामना गरी मनाउने परम्परा रहेको समितिका सदस्य चन्दन जैसवालले बताउनुभयो ।
यसवर्ष छठको तयारीका लागि धनगढीको मोहना घाटमा दुई सय ५० भन्दा बढी पूजाकक्ष निर्माण गरिएका छन् । ती निर्माण गरिएका पूजाकक्षमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी माला, पताकालगायत सामग्रीले सजाएर आकर्षक बनाइएको छ । भक्तजन तथा दर्शनार्थीका लागि आकर्षक प्रवेशद्धार निर्माण गरिएको छ । धनगढी बजारका मुख्य स्थानमा स्वागत गेट निर्माण गरिएका छन् ।
नेपालको पूर्वी भेगबाट ल्याइएका कालिगडले सूर्यको प्रतिमा लगायत विभिन्न देवीदेवताको मूर्ति निर्माण गरी, रङ्गाउने र सजाउने काम गरेका छठ पूजा सेवा समितिका अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।
मोहना नदी तटीय भागको माथितिर ठूलो पण्डाल निर्माण गरिएको छ । पण्डालमा अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
भजनकीर्तन, नाचगान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न देवीदेवताका सांस्कृतिक झाँकी लगायत कार्यक्रम पनि आयोजना गरिने छठ पूजा सेवा समितिले जनाएको छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध