+

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र

तनहुँ ।  मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । 

आयोजनाको  २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो । तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । ‘यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको छ’ उहाँले भन्नुभयो– ‘चाडवाड सकियो अब निर्माणले झन् गति लिन्छ ।’

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ को दमौली बजार  र व्यास–५ को चापाघाट जोड्ने मादी नदी पुलको निर्माणको भौतिक प्रगति ४५ प्रतिशत पुगेको उहाँले जानकारी दिनुभयो । तीन सय १५ मिटर लामो यस पुल ‘आर्क डिजाइन’को चार लेनको हुनेछ । आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल डिजाइन गरिएको छ । 

पर्यटक पनि आकर्षित गर्ने भनी कलात्मक निर्माण गर्न लागिएको ठेकेदार कम्पनीका साइट इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो । पुलको सातवटा ‘फाउन्डेसन’ निर्माण गरिएको छ  ।  हाल पानीमुनि पाइलिङ, पाइल क्याप र पिलरको काम पूरा गरी पानीमाथि ‘सुपर स्ट्रक्चर’ निर्माण भइरहेको छ । 

हाल रहेको दुई लेनको पुलबाट करिब ५० मिटर उत्तरतर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार नेपालमै पहिलोपटक चार लेनको पुल निर्माण भइरहेको र तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ । 

निर्माणाधीन सोही पुल नजिक दुई लेनको तीन सय ७० मिटर लामो पुलबाट हाल सवारी आवतजावत भइरहेका छन् । कूल ८१ किलोमिटर लम्बाइ रहेको मुग्लिन–पोखरा सडकको विस्तार विसं २०७८ वैशाखदेखि शुरु भएको हो । हाल त्यो राजमार्ग दुई लेनको छ । 

पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार शुरु गरिएको  सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै