
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ ।
तीन कठ्ठा जग्गामा उहाँले तरकारीको बेर्ना उमार्नुभएको छ । रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायो लगायतका बिरुवा उत्पादन गरिएका छन् ।
भदौको अन्तिम सातादेखि नर्सरीमा बिरुवा उमार्न थालेका रानाले असोजको दोस्रो सातादेखि बिरुवा बिक्री गर्न थाल्नुभएको हो । पाँच वर्षदेखि उहाँ यस कार्यमा संलग्न रहँदै आउनुभएको छ । गत वर्षको यसै अवधिमा नर्सरीबाट ३० हजार बिरुवा बिक्री भएका थिए । यस वर्ष लगातार वर्षा हुँदा नर्सरीमा १५ हजार मात्र बिरुवा बिक्री भएको रानाले बताउनुभयो ।
‘तरकारीका बिरुवा बिक्रीबाट एउटा याममा दुई लाख ५० हजार रुपैयँँसम्म आम्दानी हुन्छ’ उहाँले भन्नुभयो–‘आधीभन्दा बढी बिरुवा नर्सरीबाटै बिक्री हुन्छ ।’ बिरुवा बिक्री गर्न साइकलमा गाउँ गाउँसम्म पुग्ने गरेको उहाँले बताउनुभयो ।
अन्य तरकारीका बिरुवा बिक्री गरेपछि प्याजको बेर्ना तयार गर्ने रानाले बताउनुभयो । तरकारी र प्याजका बिरुवा खरिद गर्नेहरु अधिकांश व्यवसायीकरुपमा तरकारी खेती गर्ने किसान रहेका छन् । तरकारी र प्याजका बिरुवा तयार गर्न बीउ खरिद, प्लाष्टिक खरिद गर्न तथा खनजोत गर्न एक लाख रुपैयाँसम्म खर्च हुने उहाँको भनाइ छ ।
नर्सरीमा बिरुवा हुर्काउन घरमै गाइगोरुको मलमुत्रबाट तयार गरिएको प्राङ्गारीक मल र जैविक विषादीको प्रयोग गर्ने गरेको राना बताउनुहुन्छ । तरकारी र प्याजका बिरुवा बिक्री गरेर प्राप्त हुने आम्दानीबाट रानाले घरखर्च चलाउनुभएको छ ।
‘विभिन्न कामका लागि बेला बेलामा काढेको ऋण नर्सरीमा उत्पादित बिरुवा बेचेर तिर्ने गरेको छु, घरखर्च सबै यसबाटै धानेको छु’ रानाले भन्नुभयो । उन्नत जातको बीउ उत्पादन गर्ने रानाको नर्सरीबाटै बीउ बिक्री हुन्छ । नर्सरीमा बिरुवाको हेरचाह गर्ने, मल राख्ने, जैविक विषादी छर्कने कार्यमा रानाकी श्रीमती मुन्नीले पनि सहयोग गर्दैआउनुभएको छ ।
बेदकोट नगरपालिकाको चम्फापुरस्थित ससुरालीमा दुई दशक अघि तरकारीको नर्सरी बनाएर बिरुवा बेच्दै गरेको राना बीउ उत्पादनतर्फ लाग्नुभएको हो । ‘ससुरालीमै बसेर नर्सरीको काम सिके’ उहाँले भन्नुभयो– ‘अनुभव बटुलेपछि आफ्नै जग्गामा नर्सरी बनाएर बिरुवा बिक्री गर्न थाले ।’
रानाले हालसम्म नर्सरीका लागि सरकारी पक्षबाट न त तालिम न अनुदान नै पाउनु भएको छ । ‘तालिम तथा सरकारी अनुदान पाउन सके अझै राम्रो गर्न सकिन्थ्यो की जस्तो लागेको छ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन