+

दुई वर्षदेखि खेलमैदान अलपत्र

बागलुङ ।  बागलुङ नगरपालिका–४ ओडारचौरमा ९ वर्ष अघि शुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो । 

स्थानीयको सक्रियतामा ठाडो खोल्सालाई सम्याएर मेलमैदान बनाउन थालिएको थियो ।  खेलमैदान निर्माण शुरु भएको नौ वर्षसम्ममा ७५ प्रतिशत मात्रै काम सकिएको ओडारचौर बहुउद्देश्यी खेलमैदानका अध्यक्ष रामप्रसाद आचार्यले बताउनुभयो ।

लामो समयदेखि काम रोकिएपछि बनेका संरचना जीर्ण भएका छन् भने प्याराफिट समेत भत्किएका छन् । खेलमैदान निर्माणका लागि बागलुङ नगरपालिका, गण्डकी प्रदेश र स्थानीयले लाखौँ लगानी गरेका छन् । 

खेलमैदानका लागि उपयुक्त ठाउँ छनोट नहुँदा समस्या आएको स्थानीय बताउँछन् । ठोडो खोलामा बर्खाको समयमा भेल आउने हुँदा खेलमैदानसहित त्यहाँ बनेका संरचना बगाउने गरेको छ । यसबाट हरेक वर्ष लाखौँको संरचना नष्ट हुँदै आएको छ । 

बर्खाको भेलले सडकको माटो, ढुङ्गासहितको गग्रेटाले खेलमैदानको अस्तित्व मेटाइदिएको आचार्यको भनाइ छ । खेलमैदान वरपर झाडी पलाएको छ  । प्याराफिटमा लेउ लागेको छ । बीच भागमा हिलाम्मे हुँदा खेल खेल्न नमिल्ने बनेको छ ।

खेलमैदानका अध्यक्ष आचार्यका अनुसार खेलमैदान निर्माणका लागि हालसम्म स्थानीयबाट ३० लाख रुपैयाँ सङ्कलन भएको, प्रदेश र स्थानीय सरकारबाट ३० लाख र जनश्रमदानदान गरी करिब एक करोड रुपैयाँ लगानी भएको छ । ‘करोड लगानी भएको खेलमैदानमा अहिले खेल्नसक्ने अवस्था छैन । खेलमैदान प्रगति हालसम्म ७५ प्रतिशत सकिएको छ । बाँकी काम गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्छ’ उहाँले भन्नुभयो । 

खेलमैदानलाई पूर्णता दिन थप ८० लाख आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । बागलुङ बजारस्थित निर्माणाधीन  त्यो खेलमैदानमा विभिन्न कार्यक्रम, सभा, सम्मेलन गर्न सकिने उहाँले बताउनुभयो । 

‘यहाँका युवाको सक्रियतामा खेलमैदान बनाउन सुरु गरिएको हो, धेरै वर्ष भयो बनाउन थालेको अहिलेसम्म पूर्णता पाउन सकेको छैन । बागलुङ बजार छेउमा रहेकाले यहाँ सभा, समारोह गर्न उपयुक्त मानिन्छ । बजेट अभावले कामलाई निरन्तरता दिन सकिएको छैन’ अध्यक्ष आचार्यले भन्नुभयो– ‘यो ठाउँमा ठूलो खाल्डो थियो, खाल्डो पुरेर खेलमैदान बनाउन थालेका हौँ, ओडारचौरवासीले श्रमदानसँगै आर्थिक सहयोग पनि गर्नुभएको छ । यहाँबाट विदेश गएका युवाले पनि रकम पठाएर सहयोग गर्नुभएको छ ।’ बजेट विनियोजन गरी निर्माणलाई निरन्तता दिन सरोकार भएका निकायसँग माग गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

बागलुङ–४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीले खेलमैदान निर्माण गरेको भूगोल नमिलेको भन्दै प्राविधिक कमजोरीका कारण अहिलेसम्म सम्पन्न हुन नसकेको बताउनुभयो । पहिले मैदान निर्माणमा सक्रिय कतिपय युवा विदेश पलायन भएको भन्दै अन्यले चासो नदिँदा समयमा काम हुन नसकेको उहाँको भनाइ छ । नगरपालिकाले पनि लाखौँ रकम यहाँ लगानी गरेको बताउँदै बर्खा लाग्यो भने खेलमैदान डुबानमा पर्ने अध्यक्ष क्षेत्रीले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो– ‘यहाँ केही प्राविधिक कमीका कारण खेलमैदान सञ्चालन गर्न सकिएको छैन । अलपत्र परेको मैदान निर्माणका लागि प्राविधिक कमजोरी कसरी समाधान गर्ने भनेर सरोकार भएकासँग छलफल गर्ने योजना बनाएका छौँ । यसलाई पूर्णता दिन आर्थिक, प्राविधिक सहयोगका लागि नगरपालिका र प्रदेश सरकारसँग पहल गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट