+

नन्दबाबा खानेपानीबाट ६ सय परिवार लाभान्वित

सिरहा । कर्जन्हा नगरपालिका–१ स्थित बाल्टियामा  एक करोड ६४ लाख ६८ हजार रुपैयाँ लागतमा नन्दबाबा खानेपानी आयोजना निर्माण भएको छ । आयोजना सम्पन्न भएसँगै वडा नम्बर १ का ६ सय १९ परिवारमा शुद्ध खानेपानीको पहुँच विस्तार भएको हो । 

कर्जन्हा नगरपालिकासँगको सहकार्यमा सबल नेपालद्वारा सञ्चालित ‘सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सबलीकरण परियोजना’ अन्तर्गत सम्पन्न भएको खानेपानी आयोजना एक कार्यक्रमको आयोजना गरी खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । 
 
विसं २०७६ फागुन २० गतेदेखि  खानेपानी आयोजना प्रारम्भ भएको थियो । सबल नेपालको  ७० लाख पाँच हजार नौ सय ५५, नगरपालिकाको  ९० लाख ७४ हजार तीन सय ७३ तथा लक्षित समुदायले ३ लाख ८८ हजार चार सय ८५ रुपैयाँ खर्च व्यहोरेका सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी वितरण गर्न कूल एक लाख ५० हजार लिटर पानी भण्डारण क्षमता रहेको ‘ओभरहेड’ ट्याङ्की रहेको छ । 

ट्याङ्कीमा स्वचालित रुपमा पानी शुद्धीकरणका उपकरणसमेत जडान गरिएको  छ । दुई सय ४० फिटको डिप बोरिङ गाडिएको छभने १० एचपी क्षमताको सम्बरसिवल पम्प जडान गरिएको सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठले जानकारी दिनुभयो । खानेपानीका इनार र कुवा सुक्दै जान थालेपछि उक्त आयोजनाको पहल गरिएको वडा नम्बर १ का वडाध्यक्ष फणिन्द्र पोखरेलले बताउनुभयो । ‘जलवायु परिवर्तनसँगै चुरे क्षेत्रका गाउँहरुमा पानीको सतह सुक्न थाल्यो । ट्युवेल र इनारहरु सुक्न थाले । गाउँमा खानेपानीको हाहाकार हुन थालेपछि यो आयोजनाको पहल गरिएको हो’ उहाँले भन्नुभयो– ‘यसमा सबल नेपाल र नगरपालिकाले पनि चासोका साथ सहयोग गरेकाले समयमै निर्माण सम्पन्न भएको छ ।’

घरमा नियमित खानेपानी आउन थालेपछि स्थानीय पनि खुशी भएका छन् । ‘हाते कल सुकेको वर्षौं भइसकेको थियो । इनार तथा कुवाका पानी पनि सुक्न थालेपछि पानीको हाहाकार हुन थालेको थियो । पछिल्लो समय हामीसँग बसाइँ सर्नुको विकल्प थिएन । आज यसरी घरघरका धारामा पानी आउन थालेपछि हर्षित भएका छौँ’ स्थानीय ६० वर्षीय शारदा कार्कीले भन्नुभयो । 

खानेपानीको दिगोपनाका लागि प्रत्येक परिवारबाट न्यूनतम १० युनिट प्रयोग गरेबापत ८० रुपैयाँ महशुल सङ्कलन गर्ने गरिएको भन्दै थप प्रतियुनिट र ६ महशुल निर्धारण गरिएको नन्दबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो । 

सबल नेपालले निर्माण गरेको संरचनाले गर्दा वडावासीले स्वच्छ पानी पिउन पाएको कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले बताउनुभयो । उहाँले यस खानेपानी आयोजनाको प्रभावकारिताका लागि नगरले थप योजना बनाउने भन्दै नगरका अन्य वडा तथा समुदायमा पानीको समस्या समाधान गर्न सहकार्य गर्दै जाने उल्लेख गर्नुभयो ।

आफ्नो नगरक्षेत्रभित्रको चुरेको फेदमा पर्ने बल्टियाको बस्तीमा स्थानीयको घरघरमा खानेपानीको व्यवस्था भएको नगरप्रमुख भोला पोखरेलले बताउनुभयो । ‘यसमा नगरले पनि सहकार्य गरिरहेको छ । आगामी दिनमा नगरका अन्य सुक्खा ठाउँमा क्रमशः खानेपानीको व्यवस्था गर्दै जाने प्रतिबद्धता गर्दछौँ’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट