
झापा । झापामा विगत डेढ वर्षको अवधिमा हात्तीको आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहान हिँड्ने क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो ।
डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित ६ जनाको हात्तीको आक्रमणका कारण ज्यान गएको छ भने ६ जना घाइते भएका थिए । यसैगरी, विसं २०७९ मा ७ जनाको मृत्यु र ८ जना घाइते भएको उहाँले जानकारी दिनुभयो ।
सोही अवधिमा ६ हात्ती मरेको तथ्याङ्क वन कार्यालयमा रहेको छ । गत वर्ष ३ र चालु आर्थिक वर्षमा ३ गरी ६ हात्ती मरेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ । त्यसमा सात गैरनेपाली पनि छन् । एक दशकमा ७५ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ ।
जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क उपलब्ध छैन ।
मेचीपारी भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।
खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेल बताउनुहुन्छ । सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गर्न थालेका छन् ।
गत कात्तिक १९ गते बाहुनडाँगीको गौडाबाट नेपाल प्रवेश गरेका ३६ हात्तीले हाल मोरङ र सुनसरीमा बितण्डा मच्चाइरहेका छन् । एक दशकयता नेपालकै जङ्गलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका वडा नं ३ का सीताराम वाँस्तोलाले बताउनुभयो । एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्ने गरेका छन् ।
सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ । अधिकांश पीडितले बेलैमा सो रकम नपाएको गुनासो छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले रु १० लाख राहत दिने व्यवस्था छ ।
सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत रु २० हजारसम्म दिने कानुनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा रु १० हजारसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन वन कार्यालयका अधिकृत पराजुलीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अझै २०-२५ वर्ष म बिनाको एमाले कसैले कल्पना नगरे हुन्छ: ओली
- चाबी लगाएर आन्दोलनमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन
- विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त
- परीक्षा संचालन गर्न कर्मचारी सहभागी नहुने ट्रेड युनियनको संकेत
- कर्मचारी खटाएर परीक्षा लिएमा कापी जाँच नगर्ने शिक्षक महासंघको घोषणा
- आन्दोलन अझै चर्काउन शिक्षकहरुलाई प्रचण्डको सुझाव
- सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
- ‘प्रधानमन्त्रीको असफलताको भारी शिक्षामन्त्रीलाई बोकाउन खोजियो’
- आज पनि सडकमा ‘नाच्दैगाउँदै’ शिक्षकहरु
- भारतीय विद्युत् मन्त्री काठमाडौँमा