
कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा फड्को मार्न थालेको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो ।
देश सङ्घीयतामा गएसँगै अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको यस अस्पतालले विभिन्न उपकरण थपेको छ । सरकारी अस्पतालमा सिटीस्क्यान मेसिन नहुँदा बिरामीले निजी अस्पतालमा चर्को शुल्क तिरेर सिटीस्क्यान गर्नुपर्ने बाध्यता थियो । अस्पतालले सिटीस्क्यान मेसिन खरिद गरेर गत वर्षदेखि सेवा सुरु गरेसँगै चर्को शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बिरामीको बाध्यता हटेको छ ।
‘हामीले गत वर्षदेखि सिटीस्क्यान सेवा सुरु गरेका हौँ’ सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले भन्नुभयो– ‘यसबाट धेरै बिरामी लाभान्वित भएका छन् । शुल्क पनि बाहिरभन्दा यहाँ ३० देखि ४० प्रतिशत कम छ ।’ सिटीस्क्यानका लागि दैनिक २० देखि २५ जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
हालै मात्रै अस्पतालले एमआरआई मेसिन खरिद गरेर ल्याएको छ । यसअघि एमआरआई सेवा नहुँदा यस क्षेत्रका बिरामीले समस्या भोग्दै आएका थिए । ‘एमआरआई मेसिन आइसकेको छ । यो सिटीस्क्यानभन्दा परिस्कृत मेसिन हो’ डा कमरले भन्नुभयो– ‘जडान हुँदैछ, केही हप्तामा सेवा सुरु हुन्छ ।’
यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउकोलगायत शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । अस्पतालमा २० शय्याको डायलासिस सेवा पनि सञ्चालनमा छ । विगतमा १५ शय्याबाट सेवा दिँदै आएकामा हाल विस्तार गरेर २० शय्या पु¥याइएको डा कमरले बताउनुभयो । उहाँले भन्नुभयो– ‘डायलासिसका लागि शय्या पनि बढाएका छौँ । दैनिक ४० देखि ५० जना बिरामीले सेवा लिनुहुन्छ । सरकारले तोकेका व्यक्तिले यो सेवा निःशुल्क पाउनुहुन्छ ।’
सरकारीतर्फ ५० र विकास समितितर्फ ७५ गरी १ सय २५ शय्याको स्वीकृति रहेको अस्पतालमा हाल ३ सय शय्या सञ्चालनमा छ । निमित्त सुपरिटेन्डेन्ट डा कमरले भन्नुभयो– ‘१ सय २५ शय्याको स्वीकृति भए पनि बिरामीको चापलाई मध्यनजर गर्दै ३ सय शय्या सञ्चालन गरिहेका छौँ ।’
सेवा विस्तारसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लगिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘बिहान ८ बजेदेखि ओपिडी सेवा शुरु गरेका छौँ । भीडभाड कम गर्न टिकट काउन्टर व्यवस्थितसँगै विस्तार गरिएको छ । शल्यक्रिया कक्ष थपेका छौँ । जनशक्ति व्यवस्थापन गरिएको छ । ल्याबलाई व्यवस्थित बनाइएको छ ।’
‘अल्ट्रासाउण्ड गर्न दुई÷तीन दिन कुर्नुपर्ने अवस्था थियो अहिले छैन’ उहाँले भन्नुभयो– ‘सिटीस्क्यानको रिपोर्टका लागि चार÷पाँच दिन कुर्नुपर्ने अवस्था थियो । अहिले समयमै हुन्छ । आकस्मिक सेवाको चापलाई कम गर्न १५ शय्याको ‘अब्जरभेशन वार्ड’ बनाएका छौँ ।’
आगोले जलेको उपचार गर्न चार शय्याको ‘बर्न वार्ड’ पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ । क्यान्सर र मानसिक रोगसम्बन्धी उपचार सेवा थप्ने योजनामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताउनुभयो । उहाँले भन्नुभयो– थप सेवा विस्तार गर्ने योजनामा छौँ । हामी कहाँ क्यान्सर र मानसिक रोगसम्बन्धी उपचार छैन । यसका लागि पहलमा लागेका छौँ । स्वास्थ्य शैक्षिक कार्यक्रम चलाउने योजना छ । जसमा पिसियल लेवलको पढाइ हुनेछ । यो प्रक्रिया अगाडि बढेको छ ।’ अस्पतालमा विद्युत् फिडर लाइन जडानको पहल पनि भइरहेको छ । जसले गर्दा छिन्छिनमा बत्ती जाने समस्या हल हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कर्मचारी खटाएर परीक्षा लिएमा कापी जाँच नगर्ने शिक्षक महासंघको घोषणा
- आन्दोलन अझै चर्काउन शिक्षकहरुलाई प्रचण्डको सुझाव
- सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
- ‘प्रधानमन्त्रीको असफलताको भारी शिक्षामन्त्रीलाई बोकाउन खोजियो’
- आज पनि सडकमा ‘नाच्दैगाउँदै’ शिक्षकहरु
- ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा
- भारतीय विद्युत् मन्त्री काठमाडौँमा
- कर्मचारी परिचालन गरेरै भएपनि कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमा गर्ने
- कम्युनिष्टको लक्ष्य सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता