
नारायणगढ । पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।
देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो । विसं २०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको थियो ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार हाल पुल निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ । उहाँले भन्नुभयो, “अहिले निर्माणको काम लगभग पूरा भएको छ, अप्रोच रोड र रेलिङको केही काम बाँकी छ, केही दिनमा पूर्ण तयारीका साथ पुल सञ्चालन गर्न मिल्ने हुन्छ ।”
उहाँले माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालन हुनुपर्ने स्थानीय र सम्बन्धित सरोकारवालाको माग भएको हुँदा यही महिनाको अन्तिम सातामा सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । “दुवैतिरको बाटो ‘क्लियर’ छ, अहिले पनि पैदल र मोटरसाइकल चलाउन मिल्ने भएको छ, सुरक्षाका लागि अप्रोच स्ल्याब र रेलिङ हाल्दै गरेको अवस्था छ, केही खाल्डा परेको स्थानमा मिलाउने काम भइरहेको छ, यो एक–दुई दिनमा सकिने काम हो ।”
उहाँले बीचमा बजेटका कारणले काममा केही ढिला हुन पुगेको बताउनुभयो । केही दिनअघि मात्र गत आर्थिक वर्षको रु दुई करोड ९० लाख रकम भुक्तानी भएको हुँदा बजेटमा सहजता मिलेको उहाँको भनाइ छ । “अब ठेकेदारलाई रु दुई करोड भुक्तानी गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “पुल निर्माणका लागि संशोधित लागत रु २१ करोड ५० लाख हो, सबै काम सम्पन्न गर्दा रु डेढ करोड बजेट थप गर्नुपर्ने देखिन्छ ।”
ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्नेगरी इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले पुल निर्माणको जिम्मा लिएको थियो । निर्माण भइरहेको समयमा विसं २०७७ चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ साल वैशाखमा भत्किएको थियो ।
तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी दुई सय २० मिटर लम्बाइको पुल बनेको शाहले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कम्युनिष्टको लक्ष्य सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
- कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै
- खुम्बुमा एकैदिन सात सय पर्यटक
- बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी