
भोजपुर । विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको सङ्ख्या भोजपुरमा बढ्न थालेको छ । विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन् ।
भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । दशवर्ष विदेश बस्नुभएका राई अहिले गाउँमा कृषि उद्यममा जोडिनु भएको हो । उहाँले गोलभेडा, बन्दा, फुलकोभी, गाँजरलगायत तरकारीको व्यावसायिक खेती गरिरहनुभएको छ ।
वडा कार्यालयको पहलमा आवश्यक तालिमसँगै औजार तथा उपकरण पाएपछि व्यवसायमा थप सहजता भएको राईले बताउनुभयो । “विदेशमा गरेको दुःख र अनुभव आफ्नै ठाउँमा उपयोग गर्ने उद्देश्यले परिवारसँग मिलेर तरकारी खेती सुरु गरेको छु । अहिले प्रशस्त आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।
कृषिमा लाग्ने युवालाई राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम गरेर सहयोग गरिरहेको राईको भनाइ थियो । करिब दुई रोपनी क्षेत्रमा तरकारी खेती लगाइएको उहाँले जानकारी दिनुभयो । तरकारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने देखेपछि यसको विस्तारमा जोड दिइएको राईले बताउनुभयो । “स्वदेशमा व्यावसायिक भएर काम गर्न सकियो भने प्रशस्त आम्दानी गर्न सकिने रहेछ”, उहाँले भन्नुभयो ।
तरकारी खेतीबाट सबै खर्च कटाएर मासिक रुपमा रू २० देखी २५ हजारसम्म आम्दानी हुने गरेको राईले जानकारी दिनुभयो । खेतीलाई थप विस्तार गरेर आम्दानीलाई अझ बढाउने लक्ष्य रहेको उहाँले योजना सुनाउनुभयो । उत्पादन भएको तरकारी स्थानीय बजारमा खपत हुने उहाँको भनाइ छ ।
वडा कार्यालयले व्यावसायिक रुपमा तरकारी खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरुको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै तालिम तथा कृषियन्त्र, उपकरण सहयोग गर्दै आएको छ ।
यहाँका कतिपय ठाउँ भौगोलिक रुपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । भावी दिनमा व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गरिने उहाँको भनाइ थियो ।
“आर्थिक रुपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ”, वडाध्यक्ष राईले भन्नुभयो, “स्थानीयवासीलाई व्यावसायिक कृषिमा जोड्न आवश्यक काम गरिरहेका छौँ । किसानलाई तरकारी खेती, व्यावसायिक बाख्रापालन, विभिन्न सीपमूकल तालिम दिँदै आएका छौँ । अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दो छ ।”
किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणमासमेत सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । वडाको बजेट बाहेक अन्य सङ्घ संस्थासँग सहकार्य गरेर पनि कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो । वडामा विनियोजन हुने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले अन्य निकायसँग सहकार्य गरेर किसानलाई प्रोत्साहन गर्दै आएको उहाँले बताउनुभयो ।
“वडामा आउने बजेटले सबै पक्षलाई समेट्न समस्या हुन्छ”, वडाध्यक्ष राईले भन्नुभयो, “विभिन्न निकायसँग सहकार्य गरेर कृषि क्षेत्रको विकासमा जोड दिएका छौँ । कृषिमा वडालाई नमुनायोग्य बनाउने लक्ष्य लिएका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी