+

एनसेलको शेयर खरिदबिक्री अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रियाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।  एनसेलको खरिदबिक्रीबारे अध्ययन गर्न बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५  सदस्यीय समिति गठन गरेको हो । 

एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन भएको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको छ । 

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्लेलाई राखिएको छ ।। एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्न समितिलाई ३० दिनको समयावधि दिइएको छ ।

अध्ययन समितिमा रहनुभएका गौतम कानुन समूहका सचिव हुनुहुन्छ  । उहाँले अहिले  सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवको जिम्मेवारी समालिरहनुभएको छ । समितिका अर्का सदस्य भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुनुहुन्छ ।  समितिमा रहनुभएका शाक्य आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक हुनुहुन्छ। चार्टर्ड एकाउन्टेण्डहरुको नियमनकारी निकाय आईक्यानका अध्यक्ष काफ्लेलाई समितिको सदस्य बनाइएको छ ।

टेलिकम कम्पनी एन्सेलको २० प्रतिशत शेयर नेपाल कम्पनी सुनिभेरा क्यापिटलको स्वामित्वमा छ । तयसको  ८० प्रतिशत हिस्सा सेन्ट किट्समा दर्ता भएको कम्पनी रेनोल्ड होल्डिङ्सको नाममा छ । मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङ्सको सबै शेयर बेलायतमा हालै दर्ता भएको स्पेक्ट्रलाइट नामक कम्पनीलाई बेच्ने निर्णय गरेको हो ।

नियमनकारी निकायको पूर्वस्विकृतीविना बिक्री गरेको र कर छल्न खोजेको हुनसक्ने आशंकामा प्रश्न उठेपछि सत्तारुढ दलहरुको मंगलबारको बैठकले यसवारे छानविन गर्ने निर्णय गरेको थियो । सार्वजनिक लेखा समितिले बुधबार एन्सेलमा लगानी गरेको कम्पनीको शेयर खरिदबिक्री रोक्न नियमनकारी निकायहरुलाई निर्देशन दिइसकेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै