+

रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए


काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरु गरेको ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ अभियानमा सहभागी भएका ट्राफिक प्रहरीका एक सई विवादमा तानिएका छन् । 


ड्युटीकै बेला रविको समर्थनमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्कालाई प्रहरी प्रधान कार्यालयले अकस्मात् काठमाडौँ तानेको छ।

सई खड्का जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेमा कार्यरत थिए। उनले बर्दीमै ड्युटी गरिरहेकै अवस्थामा नेपालगञ्जमा हस्ताक्षर गरेका थिए। उनको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी संगठनभित्रै तहल्का मच्चिएको हो।

घटनापछि प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले प्रतिक्रिया दिंदै भने, “उहाँले प्रहरी आचार संहिताविपरीत गम्भीर कार्य गर्नुभएको छ। त्यसैले आवश्यक अनुसन्धानका लागि प्रधान कार्यालय तानिएको हो।”

प्रहरी ऐन, २०१२ अनुसार, प्रहरी कर्मचारीलाई कुनै पनि प्रकारको राजनीतिक वा व्यावसायिक गतिविधिमा सरिक हुने अनुमति छैन। तर सई खड्काले  ड्युटीमै रहेका बेला हस्ताक्षर गरे । उक्त तस्बिर सामाजिक संजालमा सार्वजनिक भयो, जसले प्रहरी प्रशासनलाई नै असहज बनायो।

अब उनलाई अनुशासन उल्लंघनको कसुरमा कस्तो कारवाही हुन्छ भन्ने प्रश्न उठिरहेको छ। रविको पक्षमा खुलेर समर्थन जनाउने सईको कदमले सत्ता र सुरक्षाप्रशासनबीचको सम्बन्धमा थप तरंग ल्याउने देखिएको छ।

रविपक्षीय अभियान एउटा राजनीतिक दबाब बन्न थालेको चर्चा चलिरहेकै बेला प्रहरी संगठनभित्रको यस्तो गतिविधि चर्चाको शिखरमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट