
पर्वत । पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने भएको छ । दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको हो ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन रिजालका अनुसार उन्नत जातका गाई वा भैँसी जुनसुकै खरिद गरेर दूध तथा पाडापाडी र बाच्छाबाच्छी उत्पादन गर्नेलाई प्रति गाईभैसी २० हजार रुपैयाँ अनुदान दिने निर्णय भएको छ । ‘बढ्दो बसाइँसराइ, शिक्षा तथा रोजगारका लागि अधिकांश युवा शहर पस्न थालेका छन्, स्थानीयस्तरमा रोजगारीका सम्भावना बढाउँदै पशुपालक कृषकलाई व्यावसायिक बनाउन पशुपालनमा आकर्षित गर्न थालिएको हो’ उहाँले भन्नुभयो ।
रिजालका अनुसार योसँगै दूध उत्पादन बढाउने र गाउँगाउँमा सङ्कलन केन्द्र बनाउने कार्यक्रम रहेको छ । लिमे पाराकोटे भैँसी र रैथाने जातका गाईपालन गर्दा कृषकलाई समेत फाइदा नहुने र बाह्रैमास बाह्य जिल्लाबाट दूध तथा दुग्धजन्य वस्तु आयात गर्नुपर्ने अवस्था भएपछि गाउँकार्यपालिकाको बैठकले कृषकलाई अनुदान दिने निर्णय गरेको उहाँको भनाई छ ।
पालिकाभित्र व्यावसायिकरुपमा पशुपालन गर्दै आएका अगुवा कृषक, कृषि फार्म वा कृषि सहकारी संस्था र कृषक समूहले जतिसुकै सङ्ख्यामा खरिद गरे पनि सङ्ख्याको हिसाबले अनुदान वितरण गरिने रिजालले जानकारी दिनुभयो ।
अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ प्रोत्साहन गर्नुका साथै स्वयं कृषक र गाउँपालिका पनि दूध, घ्यु, दहीलगायत दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने तथा बाह्य क्षेत्रमा निर्यात गर्न सकिने गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले बताउनुभयो । ‘स्थानीय जातका गाईभैँसी पाल्न र उन्नत जातका गाईभैँसी पाल्न उही समय, उही मेहनत र उही प्रकारको दानापानी आवश्यक हुन्छ’ उहाँले भन्नुभयो– ‘एउटै खर्च लाग्ने भएपछि उन्नत जातका गाईभैँसी पालेर प्रशस्त आम्दानी गर्न सकिन्छ ।’
अध्यक्ष गुरुङले चालु आवमा यो कार्यक्रमका लागि रू छ लाख विनियोजन गरिएको र आगामी वर्षदेखि कृषकको मागका आधारमा बढाउँदै लैजाने बताउनुभयो । उहाँले यस वर्ष ३० वटा उन्नत जातका गाई वा भैँसी खरिद गर्नेलाई २० हजार रुपैयँ का दरले वितरण गरिने जानकारी दिनुभएको छ । रकम अपुग भएमा अर्को वर्ष मिलान गर्नेगरी व्यवस्थापन गरिने उहाँको भनाई छ ।
पालिकाले सूचना जारी गर्दै उन्नत गाईभैँसी खरिद गरेबापत कृषकलाई उपलब्ध गराउने अनुदान कार्यक्रम सञ्चालन मापदण्ड २०७७ बमोजिम त्यस्ता पशु खरिद गर्नुपुर्व गाउँपालिकाबाट स्वीकृत लिनुपर्ने जनाएको छ । खरिद गरेपछि निवेदन र कृषकको नागरिकता, खरिद गर्नुपूर्व लिइएको सिफारिस, वडाको सिफारिस, कम्तीमा तीनदेखि पाँच वर्ष गाईभैँसी व्यावसायिकरुपमा पल्ने प्रतिबद्धतापत्र, बीमा पोलिसी तथा खरिद गरेको गाई वा भैँसीको तस्विर उपलब्ध गराएर भुक्तानी लिन सकिने लेखा अधिकृतसमेत रहनुभएका निमित्त प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनुभयो ।
यसअघि पालिकाले काठेगाई अर्थात् स्थानीय जातका गाईपालन गर्ने कृषकलाई सुत्केरी भत्ता स्वरुप ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । धार्मिक तथा जैविक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने स्थानीय जातका गाई लोप हुन नदिन विगत दुई वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विहादीमा झण्डै पाँच सयको सङ्ख्यामा स्थानीय जातका गाईपालन हुँदै आएको पालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी