
म्याग्दी । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् ।
स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ । पूर्ण कतारमा ६ वर्ष, यामेन्द्र र तेजेन्द्र बहराइनमा ३ वर्ष काम गरेर स्वदेश फर्किएपछि सामूहिक माछापालनमा लाग्नुभएको हो । टिमुरे खोला नजिकैको आठ रोपनी जग्गा भाडामा लिएर उहाँहरुले सामूहिक रूपमा ट्राउट जातका माछा पाल्नुभएको छ ।
२० लाख रुपैयाँमा माछापालनका लागि १० पोखरी निर्माण गरिएको पूर्णले जानकारी दिनुभएको छ । २०७९ साल कात्तिकदेखि मालिका रेन्बो ट्राउट फर्म दर्ता गरी माछापालन व्यवसाय शुरु गरिएको उहाँले बताउनुभयो । ‘शुरुमा ८ लाख रुपैयाँको लगानीमा ६ वटा पोखरी (रेसवे) निर्माण गरी माछापालन थालनी गर्यौँं । अहिले १० पोखरी निर्माण गरेका छौंँ’ उहाँले भन्नुभयो ।
गण्डकी रेन्बो ट्राउटबाट १० हजार अण्डा ल्याएर ह्याचिरिङ गरिएको जनाउँदै पूर्णले करिब नौ महिनामा माछा बिक्रीका लागि तयार हुने बताउनुभयो । अहिले पोखरीमै भुरा उत्पादन हुने भन्दै १२ हजार बढी माछा हुर्किरहेका उहाँले जानकारी दिनुभयो ।
पूर्णका अनुसार पहिलो वर्ष ७ सय किलो बढी माछा बिक्री भएको थियो । यस वर्ष २ हजार किलो उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । पहिलो वर्षको आम्दानी पनि व्यवसाय विस्तारमा लगाइएको बताउँदै उहाँले यस वर्षदेखि राम्रो आम्दानी लिन सकिने बताउनुभयो । माछापालनका लागि चिसो र बहाव भएको स्वच्छ पानी आवश्यक हुने सञ्चालक पूर्णको भनाइ थियो ।
वर्षातको समयमा माछाका भुरा बचाउन गाह्रो हुने तेजेन्द्र सुनाउनुभयो । यहाँ उत्पादित माछा नजिकैको दरबाङ बजारसहित सदरमुकाम बेनी र छिमेकी जिल्ला बागलुङसम्म लगिएको उहाँले बताउनुभयो । पहिलो वर्ष प्रतिकिलो १ हजार २ सय रुपैयाँ मा बिक्री गरिएकामा यस वर्ष भने दानाको मूल्य बढेकाले १ हजार ३ सयमा बेच्ने गरिएको तेजेन्द्रले जानकारी दिनुभयो । बजारमा माग बढे पनि पर्याप्त उत्पादन गर्न नसकिएको उहाँको भनाई छ ।
उहाँहरुले टिमुरेमा सामूहिक रुपमा आफ्नै रेष्टुराँ पनि सञ्चालन गर्नुभएको छ । पोखरीमा उत्पादित माछा रेस्टुराँमा समेत खपत हुने गरेको माछापालका यमेन्द्रले जानकारी दिनुभयो । माछापालन गरी मनग्य आम्दानी भएकाले विदेशभन्दा नेपालमै फाइदा भएको उहाँको भनाई छ । आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछापालन शुरु गरिएकाले फर्ममा परिवारका अन्य सदस्यलेसमेत साथ दिनुभएको यमेन्द्रले बताउनुभयो ।
मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बूढाले गाउँमै युवाको लगानीमा व्यावसायिक माछापालन गरेसँगै अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको बताउनुभयो । उहाँका अनुसार वडाको ५० प्रतिशत अनुदान कार्यक्रमबाट पोखरी वरिपरी घेरबार गरिएको छ ।
सरकारबाट पाउने ऋण र अनुदानमा समेत झन्झटिलो प्रक्रिया भएको भन्दै वास्तविक किसानसँग अनुदान पुग्न नसकेको माछापालक रोकाले गुनासो गर्नुभयो । आगामी दिनमा यस व्यवसायलाई अझै बिस्तार गर्ने सोच रहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा