उदयपुर । रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसक्नुभयो । तर उहाँ अहिले पनि कृषि र पशुपालनमा सक्रिय हुनुहुन्छ । यही पेशाबाट उहाँले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।
उहाँले १३ रोपनी जग्गामा फलफूलखेती गर्नुभएको छ । सबैभन्दा धेरै लिच्ची र कागती रोप्नुभएको छ । कागती बिक्रीबाट वार्षिक पाँच लाख आम्दानी गर्ने गरेको उहाँले जानकारी दिनुभयो । ३० वर्षदेखि उहाँले खसीबाख्रा पाल्दै आउनुभएको छ । अहिले उहाँको गोठमा एक सयको सङ्ख्यामा खसीबाख्रा छन् । १ सयमध्ये ३८ वटा त खसी मात्र छन् ।
उहाँले एक हजारको सङ्ख्यामा लोकल कुखुरा र एक हजार हाँस पाल्नुभएको छ । खसीबाट वार्षिक रु सात लाखसम्म र हाँस कुखुरा बिक्री गरी रु चार लाखसम्म आम्दानी गर्नुहुन्छ । विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय हुनुहुन्छ ।
‘मैले कृषि पेशा गर्दागर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ । बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ’ उहाँले भन्नुभयो– ‘राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ ।’
अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिनुहुन्छ । साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेखमा समय दिनुहुन्छ । उहाँका चार छोरामध्ये उहाँ साहिँला छोरासँग बस्नुहुन्छ । हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको बताउनुहुन्छ उहाँ । उहाँलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगर भन्नुहुन्छ– ‘उहाँ कर्मठ कृषक हुनुहुन्छ । यस्तो व्यक्ति देशमा बिरलै पाइन्छन्, ती मध्येका एक हुनुहुन्छ । उहाँ सफल कृषकमात्र नभई समाजसेवी पनि हुनुहुन्छ ।’
पञ्चायतकालमा प्रधानपञ्च हुँदा उहाँले रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गर्नुभयो र नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गर्नुभएको प्राचार्य थापामगरले जानकारी दिनुभयो । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भन्नुभयो– ‘जीतुहर्क एक सङ्घर्षशील र सफल कृषक हो । गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गर्नुभयो र त्यसपछि कृषि पेशामै फर्कनुभयो ।’
असी वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेशामा सक्रिय तामाङ आफू यही पेशाले निरोगी भएको बताउनुहुन्छ । ‘सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन’ उहाँ भन्नुहुन्छ– ‘यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन । म यसमै सन्तुष्ट छु ।’
उहाँ दैनिक दूधभात, मासु र फलफूल खाने गर्नुहुन्छ । आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक सङ्कट पर्दा उहाँले सरसापटी दिने गर्नुभएको छ । ८० वर्षको उमेरमा पनि उहाँको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्का बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते