
म्याग्दी । बाजेका पालादेखि भेडा पाल्दै आउनुभएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै जानु भएको छ ।
पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिनुभएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाउनुभयो ।
‘पहिला एक सय भेडाबाख्रासँगै आठ÷दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेँसी गर्दथे । गाईभैँसी बेचेर सकिए । अहिले ४० वटा भेडाबाख्रा छन’ विकले भन्नुभयो– ‘छोराछोरीले यो पेसा नरोजी विदेशतिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँड्डुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।’
ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसी छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गर्नुभएको छ । ‘छोराछोरी विदेश र शहर पसेपछि हामी बूढाबूढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ’ उहाँले भन्नुभयो– ‘घुम्ती गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो ।’
करिब २० वर्षअघि बर्खामा गाईभैँसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टीकाधुरीलगायत ढोरपाटनका बुकीका खर्कहरु अहिले रित्ता हुँदै गएका थापाले बताउनुभयो । खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन जस्तै ६० वर्षीय वृद्धले धानेको घुम्ती गोठहरु उनीहरुको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र वयस्क उमेरका गोठाला भेटिँदैनन् ।
वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमा मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको प्रशस्त स्रोत घुम्ती पशुपालन पेसा सङ्कटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आउनुभएका धवलागिरि गाउँपालिका–७ ताकमका पूर्वप्रधानपञ्च विष्णुबहादुर थापाले बताउनुभयो । ८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् ।
गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन थियो । बुकीमा चरेका पशुहरु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताउनुभयो ।
असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरु चिसोसँगै बेँसीतर्फ झार्ने चलन छ । अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुहरुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्झट मान्न थालेका वृद्धहरुको भनाइ छ । पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्र्यौंली गोठाला पेसालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायतले जहाँ गए पनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेशभन्दा गोठनै राम्रो भएको अनुभव सुनाउनुभयो ।
‘दुःख यहाँभन्दा विदेशमा धेरै हुन्छ’ उहाँले भन्नुभयो– ‘मलाई खाडीको तुलनामा बुकीमा भैँसी पाल्दा सजिलो लागेको छ ।’ २१ वटा भैँसी पाल्नुभएका शक्तिबहादुरले घ्यु, राँगाभैँसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’