काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथा आयोजना वर्गीकरण नहुँदा समस्या देखिएको बताउनुभएको छ ।
अर्थ समितिको आजको बैठकमा उहाँले आयोजनाको वर्गीकरणसम्बन्धी स्पष्ट मापदण्ड बनाएर कुन तहका सरकारले कस्तो आयोजना कार्यान्वयन गर्ने भनेर स्पष्ट पारिनुपर्छ भन्नुभयो । ‘हामीसँग हजारौँको सङ्ख्यामा खल्तीका आयोजना छन् । विस्तृत अध्ययन र सम्भाव्यताबिना नै त्यस्ता आयोजनामा बजेट परेका छ । सङ्घ सरकारको बजेटमा ७५ हजार रुपैयाँ लागतको योजना पनि परेको देखियो । यसरी हजार र लाखका योजना केन्द्र सरकारले राख्यो भने प्रदेश, स्थानीय तह, वडाले कस्ता योजना बनाऊलान् र कार्यान्वयन गर्लान् ?’ उहाँले भन्नुभयो– ‘विनियोजन कौशल भएन भने स्रोतको सही सदुपयोग हुन सक्दैन । यसकारण योजनाको वर्गीकरण चाहियो ।’
निर्माण व्यवसायीको दायित्व सरकारले नरोकेको पनि उहाँको भनाइ छ । विधि र प्रक्रिया पु¥याएर आए सरकारले कुनै पनि निर्माण व्यवसायीको भुक्तानी नरोक्ने उहाँले स्पष्ट पार्नुभयो ।
मुलुकको अर्थतन्त्रको अवस्था बिस्तारै सुधारोन्मुख देखिए पनि त्यसको गतिबाट आफू सन्तुष्ट नरहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ । ‘अर्थतन्त्रमा रहेको समस्या र दबाबबाट बिस्तारै बाहिर निस्कन खोज्दैछौँ । लामो समयदेखि थुप्रिँदै गएका समस्या भएकाले आजको भोलि नै समाधान हुन सक्दैन’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘विदेशी मुद्रा सञ्चिति राम्रो छ । पर्याप्त तरलता र ब्याजदर घेटेको छ । मुद्रास्फीति वाञ्छित सीमाभित्र छ । तर यो प्रगतिसँग हामी सन्तुष्ट छैनौँ । यसमा थप सुधार आवश्यक छ । अहिलेको सुधारमा मात्रै चित्त बुझाएर हुँदैन ।’
गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्ष २०८१÷८२ को त्यहि अवधिमा सरकारी राजस्व बढेको देखिए पनि लक्ष्यअनुसार भने अझै सङ्कलन हुन नसकेको अर्थमन्त्री पौडेलले बताउनुभयो । राजस्व प्रशसनमा रहेका समस्यालाई गम्भीर भएर निगरानी बढाइए पनि सरकारका प्रयास सम्पूर्ण रुपमा सफल हुन नसकेको उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले राखेको राजस्व लक्ष्य हासिल गर्न गत आर्थिक वर्षको भन्दा करिब ३० प्रतिशत बढी राजस्व उठाउने पर्नेगरी महत्वाकाङ्क्षी भएर अर्थमन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ ।
अहिले बजारमा तरलता पर्याप्त हुँदा र ब्याजदर घट्दा पनि लगानी बढ्न नसक्नुको कारणबारे आफूले नेपाल राष्ट्र बैङ्कसँग कुरा गरेको पनि अर्थमन्त्री पौडलले समितिलाई जानकारी दिनुभयो । त्यस्तै, शेयर भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र कर्नरिग जस्ता समस्या देखिएकाले त्यसलाई नियन्त्रण गर्नका लागि पहल भइरहेको उहाँको भनाइ छ । नेपालले इतिहासमै पहिलोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरेको र यसको नतिजा सन्तोषजनक अवस्था देखिएकाले अब विस्तारै लगानी बढ्दै जाने आशा व्यक्त गर्नुभयो । सरकारले आफ्नो आवश्यकता र क्षमता हेरेर सार्वजनिक ऋण लिने पनि उहाँले स्पष्ट पार्नुभयो ।
बैठकमा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले घटेको बजार माग र निजी क्षेत्रको मनोबल उकास्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । ‘हाम्रो अर्थतन्त्रका समस्या बिस्तारै कम हुँदै गए पनि अझै कायम छन् । निजी क्षेत्रको आत्मविश्वास बढाउने चुनौती हाम्रासामु छ । बजारमा माग पनि घेटेको छ’ डा महतले भन्नुभयो– ‘शेयर बजारमा सुधार भए पनि स्वस्थकर रुपमा विकास हुन सकेको छैन । निकायम निकायहरुले समस्या हल गर्नेभन्दा पनि समस्या बढाउने काम गरेका छन् ।’
नेपालको बीमा क्षेत्र निकै अपारदर्शी रहेको र त्यहाँ मिलेमतो गरेर बीमाको दररेर आफूखुशी तय गर्ने प्रवृत्तिले कारोबार लागत बढी हुनगई आयोजनालाई समस्या भइरहेको उहाँको भनाइ छ ।
त्यस्तै, वैदेशिक सहयोगका आयोजनालाई दिइएको भन्सार छुट दिएको दुरुपयोग भइरहेको पनि पूर्व अर्थमन्त्री डा महतको भनाइ छ । उहाँले भन्नुभयो– ‘नेपालको सार्वजनिक ऋणको दायित्व निकै बढी भइसकेकाले अब विचार पु-याएर मात्र ऋण लिनुपर्छ , द्विपक्षीय ऋण रोक्नै पर्ने बेला भएको छ । बहुपक्षीयबाट भने लिन सकिन्छ । किनकि त्यसका सेवा सर्त सहज छन् ।’
समिति बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताउनुभयो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि प्रक्रिया थाल्ने उल्लेख गरेको र त्यसका लागि सरकारले उच्चस्तरीय सुझाव कार्यदल पनि गठन गरिसकेको उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता पूर्वअर्थमन्त्री डा महतले तयार पारेको, बजेट आफूले तयार पारेको र कार्यान्वयन गर्ने बेलामा वर्तमान अर्थमन्त्री पौडेलले जिम्मेवारी सम्हालेकाले अहिलेको बजेट पूर्वाग्रहरहित भएर कार्यान्वयन गर्न पनि उहाँले आग्रह गर्नुभयो । लक्षित राजस्व पुर्याउनका लागि सरकारका अहिलेका प्रयास पर्याप्त नरहेको पनि पुनको भनाइ छ ।
सहकारी क्षेत्र नियमनका लागि जतिसक्दो चाँडो छुट्टै निकाय गठन गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो । बैठकमा सांसद उपेन्द्र यादवले कोभिड–१९ महामारीपछि बन्द रहेका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा ल्याइनुपर्ने तथा सीमा क्षेत्रमा हुने चोरी–पैठारी रोकिनुपर्ने विषय उठाउनुभयो ।
बैठकमा सांसद विराजभक्त श्रेष्ठले मुलुकमा अनौपचारिक अर्थतन्त्रको आकार बढ्दै गएको र अवैध हुण्डी मौलाएको बताउनुभयो । अहिले धराशयी अवस्थामा रहेको सहकारी क्षेत्र नियमनका लागि तत्काल पहल थाल्न सरकार असफल भएको पनि उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘विकास खर्च प्रतिफल ठाउँमा मात्रै लगानी गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी
- नदी किनारको मापदण्डबारे सर्वोच्चको फैसला कार्यान्वयन नगर्न पत्राचार
- नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी
- धरौटीमा छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्को मुद्दामा पक्राउ
- सङ्घीय निजामती विधेयकमा संशोधनकर्तासँग छलफल शुरु
- त्रिविलाई ‘मेरिटोक्रेसी’ का आधारमा चलाउन प्रधानमन्त्रीको निर्देशन
- त्रिविमा प्रधानमन्त्रीकै सामुन्नेमा कर्मचारीको नाराबाजी
- रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
- सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित
- जाजरकोटमा जीप दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु